प्रहार समाचार । लुम्बिनी, १६ चैत २०८१ शनिवार । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाह आफ्नै कारणले उनी कहिल्यै पनि संवैधानित राजा हुन नसक्ने बताएका छन्।
तस्बिरहरु : प्रहार अनलाईन मिडिया

बुद्ध जन्मस्थल, लुम्बिनीको अन्तर्राष्ट्रिय बुद्धिष्ट सभा हल तथा ध्यान केन्द्रमा नेपाली लेखक सङ्घको आठौं राष्ट्रिय अधिवेशनको आज उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री देउवाले उक्त कुरा बताएका हुन्।

देउवाले भने – ‘ज्ञानेन्द्र अराजक भएको हिजोको आन्दोलनले पुष्टि गर्दछ।आन्दोलनको प्रकृति हेर्दा ज्ञानेन्द्रमा संवैधानिक राजा हुने कुनै क्षमता नै देखिएन । उनी निरंकुश छन्, त्यो उनले हिंजो देखिएन ।’
पार्टी सभापति देउवाले यस्ता अराजक गतिविधि बिरुद्ध बदलिदो परिवेशमा लेखकहरू अझै जिम्मेवार भएर आफ्नो कलम चलाउन आग्रह गरे ।

अहिलेको समय गणतन्त्रकै भएकाले व्यवस्था उल्टिन्छ कि भनेर आत्तिनु पर्ने अवस्था नरहेको उनको भनाइ थियो । देउवाले यतिबेला सबैले संयमता अपनाउन आवश्यक रहेको धारणा राखे । गणतन्त्रलाई बलियो बनाउन हामी सबै एकजुट हुनुपर्ने पनि देउवाले बताए ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अभिव्यक्ति स्वतन्त्रता बिना लेखकीय अधिकार सुनिश्चित हुन नसक्ने बताए ।
जनतामा सिर्जना गरिएका गलत भाष्यलाई चिर्न लेखकहरूको सिर्जनात्मक क्षमताको प्रयोग गर्ने महतले विश्वास व्यक्त गरे ।

उद्घाटन समारोहमा अध्यक्ष तीर्थ श्रेष्ठले नेपाली लेखक सङ्घ अभिव्यक्ति स्वतन्त्रतामा विश्वास गर्ने भन्दै काठमाडौंमा भएको घटनामा सञ्चारकर्मीलाई जलाएर हत्या गरिएको घटनाको निन्दा गरे । उनलेे विचार अभिव्यक्तिका नाममा उत्तेजक र हिंसा भड्काउने खालका अभिव्यक्तिको सङ्घले सधैँ बिरोध गर्ने पनि बताए । कार्यक्रममा साहियकार बनमाली निराकार, सल्लाहकार डा. ज्ञानु पाण्डे, लेखक संघका सह अध्यक्ष डा. रत्नमाणि नेपाल लगायतले शुभकामना राखेको कार्यक्रमको सहजिकरण महासचिव सोझो गाउँलेले गरेका थिए ।

आज देखि सुरु भएको प्रजातान्त्रिक लेखकहरूको संस्था नेपाली लेखक सङ्घको आठौं अधिवेशन भोलीआइतबारसम्म चल्ने छ । अधिवेशनका लागि मुलुकभरका झन्डै ४ सय प्रतिनिधि लुम्बिनी पुगेका छन् । अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने छ।


























