• विजय अधिकारी (संवाददाता) प्रहार समाचार । लमजुङ, १६ चैत २०८१ शनिवार । शुक्रबार काठमाडौंमा भएको पूर्व राजावादीहरूको आन्दोलनमा भएको पत्रकारको हत्या र सञ्चारगृहमा गरिएको आगजनी तथा तोडफोडको विरोधमा लमजुङका पत्रकारहरु आज सडकमा उत्रिएका छन्।

नेपाल पत्रकार महासङ्घ लमजुङ शाखाले काठमाडौँमा समाचार सङ्कलनका क्रममा ज्यान गुमाएका फोटो पत्रकार सुरेश रजक र सञ्चारमाध्यम माथि भएको आक्रमणको विरोधमा प्रदर्शन गरेका हुन् ।

काठमाडौँमा फोटो पत्रकार सुरेश रजकको हत्या, कान्तिपुर टिभी, अन्नपूर्णपोस्टको कार्यालयमा गरिएको आगजनी तथा तोडफोड र अनलाईन खबरका पत्रकारमाथि भएको आक्रमण विरुद्ध पत्रकारले विरोध प्रदर्शन गरेका हुन् ।

विरोध प्रदर्शन पछि आयोजित सभामा बोल्दै पत्रका महासङ्घका केन्द्रीय सदस्य कृष्ण के.सी.ले घटनाका दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न सरकारसँग माग गर्दै प्रेस स्वतन्त्रता कुण्ठित गर्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने बताए।
सो सभामा पत्रकार महासङ्घ लमजुङ शाखाका अध्यक्ष सन्देश पौडेलले सञ्चारमाध्यम माथिको आक्रमण गम्भीर अपराध भएको उल्लेख गर्दै सरकार र सम्बन्धित निकायले दोषीलाई यथाशीघ्र कानुनी कठघरामा ल्याउनुपर्ने बताए।
विरोध सभामा महासङ्घका निवर्तमान अध्यक्ष परमेश्वर अधिकारी,पूर्व केन्द्रीय सदस्य नवीनराज कुइकेल,पूर्व अध्यक्ष आश गुरुङ,जिल्ला सल्लाहकार अनुज अधिकारी लगायत जिल्लाका पत्रकारहरूको उपस्थिति रहेको थियो।
प्रदर्शनमा सहभागीहरूले ‘पत्रकार सुरक्षाको ग्यारेन्टी गर’, अनलाइन खबरका पत्रकार सुरेश रजकको हत्यारालाई कारबाही गर, सञ्चारगृह माथिको आक्रमण बन्द गर, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रको रक्षा गरौं, प्रेस स्वतन्त्रता जिन्दाबाद सहितका विभिन्न प्लेकार्ड बोकेका थिए।
नेपाल पत्रकार महासङ्घ लमजुङ शाखाले पत्रकार रजक प्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।




















