प्रहार समाचार । काठमाडौँ, ५ चैत २०८१ मङ्गलवार । काठमाडौं विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. अच्युतप्रसाद वाग्लेले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शपथ लिएका हुन् ।

विश्वविद्यालयको रिक्त उपकुलपति छनोटका लागि गठित खोज तथा सिफारिस समितिका संयोजक र सदस्यद्वयको सिफारिसमा परेका तीन मध्येबाट प्राडा वाग्लेलाई सो विश्वविद्यालयको ऐन, २०४८ को दफा १३ (४) बमोजिम कुलपति ओलीले सोमबार नियुक्त गरेका थिए ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले उपकुलपति नियुक्तिमा हुन पुगेको ढिलाइको सन्दर्भसमेतलाई ध्यान दिएर आगामी दिनमा सजगताका साथ सम्बन्धित सबै पक्षको साझा विश्वविद्यालय कायम राख्ने गरी काम अघि बढाउन शुभकामना दिए ।


























