• विजय अधिकारी (संवाददाता ) काठमाडौँ, ५ चैत २०८१ मङ्गलवार । नेपाल प्रहरीको विशेष टोलीले काठमाडौंमा करिब २५ करोड नगद रुपैयाँ सहित आज दुईजनालाई पक्राउ गरेको छ ।
तस्बिर स्केच साभार: सामाजिक संञ्जाल

काठमाडौंको झोर महाकाल क्षेत्रबाट ना१ख १६५२ नम्बरको एउटा ट्रकबाट उक्त रकम बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उक्त ट्रकका चालक सहित दुईजनालाई नियन्त्रणमा लिएको छ ।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार सुन तस्करीमा २०७३ सालमा पक्राउ परेर ७८ मा छुटेका सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-१ का कुसाङ लामा गएराति २५ करोड रुपैयाँसहित पक्राउ परेका हुन् ।
नेपाली रुपैयाँ, अमेरिकी डलर र युरोसहित दुईजनालाई पक्राउ गरिएको र अनुसन्धान अधिकृतहरूले रकम यकिन गर्न गन्ने काम गरिरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
काठमाडौंबाट रसुवा जाने तरखरमा रहेका उनलाई प्रहरीले पक्राउ गरेको थियो । लामाले काठमाडौंबाट पैसा लगेर केरुङबाट सुन ल्याउने तयारी गरेका थिए ।
ट्रकमा अगाडि फल्स बटम बनाएर पैसा लुकाएर राखेको प्रहरीले फेला पारेको थियो । उनिहरुलाई केहिबेरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने प्रहरीले जनाएको छ।


























