प्रहार समाचार । महोत्तरी ,२६ फागुन २०८१ सोमवार । गायक रुद्रसेन विश्वकर्माको होली पर्वको अवसर पारेर निकालिएको नयाँ गीत ‘होली सररर’ सार्वजनिक भएको छ।

यही फागुन २२ गते सार्वजनिक गरिएको उक्त गीत रुद्रसेन क्रिएशनको प्रस्तुति रहेको र गीत विश्वकर्माको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।
गायक विश्वकर्माले ‘दियो भए’, ‘राम कसम’, ‘हाम्रो प्यारो नेपाल’, ‘हामी सबै नेपाली’, ‘दोषी को ?’, ‘हाँसेर बोलन मायालु’, ‘दिल दुखायौ तिमीले मेरो’, ‘आयो है तिहार’, ‘लभ करे दे’, ‘आबन बैठ भट्भटिया पs’, ‘कानो मे आहा के झुम्का’, ‘कत्त स एल्ही गोरी’, ‘दे दन प्यार गोरी’ जस्ता दर्जनौं नेपाली, मैथिली र भोजपुरी गीतमा आफ्नो स्वर भरिसकेका छन् ।

पछिल्लो होली गीत भने रुद्रसेनले गायिका समीक्षा अधिकारीसँगको आवाजमा तयार पारेका हुन् । उक्त गीतमा संगीत तथा शब्द पनि विश्वकर्माकै रहेको छ । गीतलाई योगेश काजीले एरेञ्ज गरेका छन् भने गीतको निर्माताको रुपमा नीर कुमारी विश्वकर्मा (सविना) रहेकी छिन् ।

गीतको भिडियोमा कलाकारहरू आर्यन सिग्देल, बिना राउत र रुद्रसेन विश्वकर्मा लगायतको अभिनय रहेको छ । भिडियोको छायांकन ओम प्रसाईले गरेका छन् भने सम्पादन तथा रङ संयोजन अमृत चापागाईंले गरेका छन् । गीतमा नृत्य निर्देशनको पाटो भने प्रदीप कुमार रसाइलीले सम्हालेका छन् ।

गीतको रेकर्डिङ तथा मिक्स-मास्टरीङ मनोज परियारले गरेका हुनभने गीतको रेकर्ड आफ्नो मन स्टुडियोमा गरिएको हो ।
होली पर्वलाई लक्षित गर्दै तयार पारिएको यो गीतले नेपाली दर्शक तथा श्रोतामाझ विशेष प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
‘नायक आर्यन सिग्देलले अभिनय गरेको पहिलो होली गीत अनि आर्यन र बिनाजीको जोडीको नृत्य त्यस्तै तराईको सबैलाई मनपर्ने महान पर्व होलीसम्बन्धी गीत भएकोले गीतले सम्पूर्ण नेपालीहरूको मन जित्ने छ ।’ विश्वकर्माले भने ।

उक्त गीतलाई रुद्रसेन क्रिएसन प्रा.लि.को आधिकारिक युट्युब च्यानलबाट रिलिज गरिएको छ । गीतले छोटो समयमै दर्शक तथा श्रोताहरूको राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ । गीत युट्युब लगायत स्पोटिफाइ, एप्पल म्युजिक लगायतका डिजिटल प्लेटफर्महरूमा पनि उपलब्ध रहेको जनाइएको छ ।


























