प्रहार समाचार । तनहुँ, २७ फागुन २०८१ मङ्गलवार । तनहुँको शुक्लागण्डकी नगरपालिकाले आफ्नै बजेटमा पुल निर्माण गरेर नागरिकको बर्षाै देखिको मागलाई पूरा गरेको छ। पुल निर्माण भएपछि स्थानिय जनताहरु हर्षित भएका छन् ।

नगरपालिकाको कटहरे स्थित बाङ्गेखोलामा पुल बनेपछि यस क्षेत्रका नागरिकको बर्षाैदेखिको सपना पुरा भएको हो । बर्षेनी बढेर आउने बाङ्गे खोलाकै कारण खोला तरेर विद्यालय जान नपाएका विद्यार्थी र विरामी हुदाँसमेत जोखिम मोलेर खोला तर्नुपर्ने समस्या पुल बनेसँगै सधैका लागि समाधान भएको छ ।
शुक्लागण्डकी नगरपालिका वडा न ८ र १० लाई जोड्ने गरि नगरपालिकाले खोलामा पुल निर्माण गरिदिएपछि स्थानीयमा खुशी छाएको छ। ‘अव हाम्रो बच्चाहरु खोला बढ्दा पनि स्कुल जान पाउने भए’, स्थानीय दिप नेपालीले भने । ‘विरामी हुदाँ चाँडै अस्पताल जान पाइने भयो ।’ नेपालीले थपे । वडा र नगरपालिकाका प्रतिनिधीलाई पुलकै अभावमा आफुहरुले भोगेको समस्या बारम्बार जानकारी गराएपछि समाधान भएको समेत नेपालीले बताए ।
पुल निर्माणपछि शुक्लागण्डकी १० को कुखुरे, कटहरे, लहरे, पातिस्वाँरा, सिम्ले र मिनामखानीका सयौँ जनता हरुलाई आवत जावतमा सहज भएको वडाध्यक्ष राजेन्द्र भट्टराई क्षेत्रीले जनाए । वडाध्यक्ष भट्टराईले वडाको सवैभन्दा महत्वपूर्ण योजना पुरा भएको उल्लेख गरे ।

नागरिकको समस्यालाई सम्बोधन गर्न तदारुकता देखाएको नगरपालिकाले छोटो समयमा नै पुल निर्माण गरिदिएको भन्दै स्थानीय हिमा भुजेलले खुशी ब्यक्त गरे । उनले पुल शिलान्यास भएको दुई महिना नवित्दै निर्माण भएको जानकारी दिदै बर्षाैदेखिको माग पुरा भएकोमा खुशी व्यक्त गरे ।
बाङ्गे खोलामा निर्माण भएको पुलको निरिक्षण गर्न पुगेका शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले नागरिकको चाहाना र आवश्यकताको आधारमा नगरमा पूर्वाधार विकास गरिएको बताए । निर्वाचनको बेलामा जनतासँग गरेको प्रतिवद्धताहरुलाई क्रमैसँग पुरा गर्ने अभियानमा आफू रहेको उल्लेख गर्दै नगर प्रमुख पण्डितले विकासको मुलप्रवाहबाट पछि परेको नगरबासीको आवश्यकतालाई प्राथमिकता दिएर काम गर्ने लक्ष्य राखिएको समेत बताए ।
झण्डै २० मिटर लम्वाईको उक्त पुल नगरपालिकाको २५ लाख बजेटमा लिभिक कन्ट्रक्सनले निर्माण गरेको नगरपालिकाले जनाएको छ ।


























