प्रहार समाचार । तनहुँ, ९ फागुन २०८१ शुक्रवार । तनहुँको शुक्ला गण्डकी नगरपालिकामा आजबाट चौथो शुक्लागण्डकी महोत्सव २०८१ सुरु भएको छ।
जस अन्तरगत अहिले महोत्सव उद्घाटन पूर्व झाँकीसहितको ऱ्याली शुरु भएको छ ।

मिलडाडाँ र दुलेगौंडाबाट झाँकीसहितको ऱ्याली शुरु भई महोत्सवस्थल शुनपा–५ बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसको खेल मैदानमा प्रवेश गरिरहेको झाँकी व्यवस्थापन संयोजक सरस्वती पोखरेलले जानकारी दिइन् ।

शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघद्धारा आयोजित महोत्सवमा सर्वोत्कृष्ट झाँकी प्रदर्शन गर्ने समूहलाई २० हजार रुपैयाँ प्रदान गरिने पोखरेलले जानकारी बताईन् । उनका अनुसार दोस्रोले १५ हजार, तेस्रोले १० हजार र चौथो दुई समूहले ५/५ हजार रुपैयाँ पाउनेछन् ।

उपस्थित सबै समूहलाई टिकट उपलब्ध गराइनेछ । १० देखि २० जनाको समूहमा आउनेलाई ५५ वटा टिकट दिइनेछ । २० देखि ३० जनासम्म आउनेलाई ७७ वटा, ३० देखि ५० जनामा आउनेलाई १ सय १० टिकट दिइनेछ । समूहको भेषभूषामा एकरुपता, मौलिक बाजागाजा, समूहको संख्या लगायतका आधारमा मुल्यांकन हुने छ ।

फागुन २० गतेसम्म सञ्चालन हुने महोत्सवमा घरेलु, कृषि, व्यवसायिक, रेष्टुरेन्ट, सामाजिक संस्था लगायत कुल १ सय ७५ स्टल समावश गरिएको संघका महासचिव एवम् प्रवक्ता सुजन श्रेष्ठले जानकारी दिए । साथै राष्ट्रिय तथा स्थानिय ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती, लाईभ कन्सर्ट, बाल उद्यान, धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थलको पदयात्रालाई समावेश गरिएको आयोजकले जनाएको छ ।
महोत्सवमा पालिकास्तरीय भलिबल प्रतियोगिता, रत्यौली प्रतियोगिता, कौरा नृत्य, विद्यालयस्तरीय खुला नृत्य प्रतियोगिता समावेश गरिएको छ । महोत्सवको पूर्व मन्त्री एवम् तनहुँ क्षेत्र नं. २ का प्रतिनिधी सभा सदस्य शंकर भण्डारीले उद्घाटन गर्ने संघका अध्यक्ष एवम् मुल संयोजक समुन्द्रराम श्रेष्ठले जानकारी दिए ।
























