प्रहार समाचार । काठमाडौं, २४ माघ २०८१ बिहीवार । प्रेस काउन्सिल नेपालले घटनालाई अतिरञ्जित गरी सामाग्री संप्रेशण गर्ने ३८ युट्युब च्यानललाई कारबाही गरेको छ ।

सञ्चारमाध्यमहरूको नियामक काउन्सिलले बुधबार विज्ञप्ति मार्फत मिडियाको आवरणमा चलेका तर दर्ता नभएका युटुबरले आफैं अदालत झैं प्रमाणीत गरेको कारण देखाउँदै ३८ वटा युट्युब च्यानललाई कारबाही गरेको जनाएको छ ।
प्रेस काउन्सिल नेपालले संचार माध्यमले सञ्चालन गर्ने युट्युब / फेसबुक लगायत सामाजिक सञ्जालको अभिलेख गरी अनुगमन गर्नुका साथै मिडियाको आवरणमा चलेका तर दर्ता अभिलेख नभएका सामाजिक सञ्जाल विशेषगरी युट्युब च्यानलबाट सम्प्रेषित सामग्रीको समेत प्रवृत्तिगत अनुगमन गरिरहेको जनाएको छ।
पछिल्लो समय झापाको शिवसताक्षी नगरपालिकामा घटेको एक घटनालाई ‘अमला काण्ड’ नाम दिइ सत्य तत्थ्य पत्ता नलागिसकेको अवस्थामा भन्दै भिडियो बनाउने ३८ ओटा युट्युब च्यानलहरुले घटनालाई अतिरञ्जित गराएका थिए ।
विज्ञप्तिमा भनिएको छ- ‘पछिल्लो समय कतिपय सामाजिक सञ्जाल युट्युब फेसबुक पेजबाट झापाको शिव शताक्षी नगरपालिकामा घटेको एक घटनालाई ‘अमला काण्ड’ नाम दिई सत्य तथ्य पत्ता नलागिसकेको अवस्थामा आफू खुसी सामग्री सम्प्रेषण भइरहेका छन् । पीडित युवती, जेष्ठ नागरिक, शिशु, पीडित परिवारका भिडियो तस्बिर समेत राखी अमर्यादित प्रश्नहरु सोध्ने , घटनालाई संवेदनशील बढाउने उद्देश्यले चरित्र हत्या गर्ने अनुगमनबाट देखिएको छ । यसरी यथेष्ट तथ्य प्रमाण बेगर भ्युज बढाउने उद्देश्यले चरित्र हत्या, बेइज्जती, मानहानि गर्ने र वैयक्तिक गोपनियताको उल्लङ्घन हुने सामग्री सम्प्रेषण भइरहेको प्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।’ काउन्सिलका प्रवक्ता रामशरण बोहोराद्वारा हस्ताशरीत विज्ञप्तिमा उल्लेख गरिएको छ। हेरौं काउन्सिलको पत्र :

यस्तै घटनासँग सम्बन्धित रहेर आधार प्रमाण पुष्टि नभएको विषयमा वैयक्तिक गोपनियता प्रतिकूल हुने किसिमबाट पीडित र आरोपितको नाम, वतन तथा भिडियो सामग्री सम्प्रेषण गरी पीडित र पीडितका परिवारलाई थप पीडा पुग्ने र सार्वजनिक संवेदनशीलतामा असर पर्ने गरि सामग्री सम्प्रेषण गी पत्रकार आचारसंहिता , २०७३, महिला उत्तरदायी सञ्चार निर्देशिका २०७६, जेष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका २०७८, वैयक्तिक गोपनीयतासम्बन्धी ऐन २०७५ बमोजिम कारबाहि गर्न तथा प्रचलित ऐन नियम निर्देशिका आचारसंहिता गम्भीर उल्लङ्घन गरेका तर आफ्ना सम्पर्क विवरण नराखेका तथा मिडिया अन्तर्गत आबद्ध नभएका युट्युब च्यानललाई प्रचलित कानुन बमोजिम कारबाही गर्न नेपाल प्रहरी साइबर ब्युरोमा पत्रचार गरिएको विज्ञप्तिमा जनाइएको छ ।


























