प्रहार समाचार । काठमाडौ, १८ माघ २०८१ शुक्रबार । नेपाल शिक्षक महासंघले चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । माघ १६ र १७ गते बसेको महासंघको तेस्रो पूर्ण राष्ट्रिय बैठकपछि चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको हो। बैठक पछि नेपाल शिक्षक महासंघका केन्द्रीय अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आयोजित पत्रकार सम्मेलनमा पहिलो चरणको आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेका हुन् ।

जस अनुसार-माघ २० गते सबै शिक्षक र कर्मचारीहरूले आ-आफ्नो फेसबुकमा आयतकार रातो स्टिकर प्रयोग गर्दै ‘२०८१ को हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गरियोस्’ भन्ने सन्देश लेख्ने, माघ २५ गते दिउँसो १ बजे सबै पालिकामा ध्यानाकर्षण र जानकारी पत्र बुझाउने कार्यक्रम तय गरिएको छ । जसमा कम्तीमा १५ जनाको प्रतिनिधिमण्डलको सहभागिता रहने छ । माघ २५ मा नै स्थानीय स्तरमा आन्दोलन परिचालन समितिको गठन गरिने भएको छ।

त्यस्तै अर्को कार्यक्रम माघ २९ गते हरेक विद्यालयमा विद्यार्थी, अभिभावक र विद्यालय व्यवस्थापन समितिका सदस्यहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने, जस्मा शिक्षक र कर्मचारीका मागहरू र आन्दोलनको आवश्यकता’ जानकारी गराइने छ । माघ ३० गते दिउँसो पालिका कार्यालयमा भेला भई ‘हाम्रा माग सम्बोधन हुने गरी यो हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गरियोस्’ भन्ने नारा सहित कालो पट्टी बाँधेर खबरदारी जुलुस प्रदर्शन गर्ने, फागुन २ गते, देशका ७७ वटै जिल्लामा शिक्षा विकास तथा समन्वय एकाइमा ध्यानाकर्षण र जानकारी पत्र बुझाउने, फागुन ११ गते जिल्ला आन्दोलन परिचालन समितिले सबै निर्वाचित संघीय सांसदहरूलाई ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम तय भएको छ ।

त्यसैगरी प्रदेशस्तरको कार्यक्रम- फागुन ७ गते प्रदेश स्तरीय आन्दोलन परिचालन समितिको गठन र फागुन ९ गते देशका ७ वटै प्रदेशका मुख्यमन्त्री र सामाजिक विकास मन्त्री समक्ष ध्यानाकर्षण तथा जानकारी पत्र बुझाउने कार्यक्रम तय गरिएको छ ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आगामी आन्दोलनका कार्यक्रमहरूलाई सफल बनाउन सबै शिक्षक र कर्मचारीलाई एकजुट भएर सक्रिय भाग लिने अपील गरेका छन् ।