प्रहार समाचार । काठमाडौं, १८ माघ २०८१ शुक्रवार । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा विधेयक संसदबाट पारित गर्न नसके पदबाट राजीनामा दिने घोषणा गरेकी छन्।

सत्तारुढ दल ने.क.पा. एमालेको भ्रातृ संगठन नेपाल राष्ट्रिय शिक्षक संगठनको हिंजो प्रथम प्रदेश परिषदलाई संबोधन गर्दै मन्त्री भट्टराईले ‘विद्यालय शिक्षा ऐन आउँदैन,विधेयक बन्दैन भने म पद छोड्छु । विधेयक ल्याउने भनेर बसेको हो सक्दिनँ भन्ने लाग्यो भने बस्दिनँ ।’
आफूले राजनीतिमा आउँदा स्थायी प्राध्यापक र जीवन साथी गुमाएको स्मरण गर्दै अहिले प्राप्त पद गुमाउन पनि आफू तयार रहेको बताइन् । प्रारम्भिक बाल विकास केन्द्र (इसिडी) देखि विश्व विद्यालय सम्म समस्या नै समस्या रहेको भन्दै उनले आफू पनि शिक्षा क्षेत्रमा रहेको समस्याको शिकार बनेको बताइन् । शिक्षा क्षेत्रको समस्या समाधान गर्न आफूले प्रयास गरिरहेको र समुदायको हितमा काम गर्न नसक्दा पद छोड्न तयार भएर बसेको बताइन् ।
कार्यक्रममा शिक्षक संगठनका नेताहरूले विद्यालय शिक्षा ऐन जारी गर्न नसकेको, शिक्षक र विद्यालयको समस्या समाधान गर्न नसकेको लगायत आरोप लगाए पछि उनले आफू पदमा बस्नका लागि मन्त्री नभएको जवाफ दिइन् ।
‘म पदमा बसिरहँदा कुनै पनि कुरा पाउँछु भनेर बसेको, कमाउँछु भनेर बसेको होइन। समुदायको हितमा काम गर्न सकिनँ, अब काम गर्न सकिँदैन भन्ने लागेको क्षण पद छोड्न तयार छु,’ उनले भनिन् ।
























