• विजय अधिकारी (संवाददाता ) लमजुङ, १८ माघ २०८१ शुक्रवार । लमजुङमा तिन दिने ठाडो भाका मेला सुरु भएको छ। लमजुङको दोर्दी गाउँपालिका वडा नम्बर-८, हिलेबेसीमा हिजोबाट उक्त मेला सुरू भएको हो ।

ठाडोभाका लोककला प्रतिष्ठान नेपालको नवौं स्थापना दिवसको अवसमा आयोजीत मेलाको सुरुवात गर्दै गण्डकी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री माननीय भेष बहादुर पौडेले लामो इतिहास बोकेको लमजुङको अनुपम संस्कृति , साहित्य / कलाको नमुना ठाडो भाकाको संरक्षण गर्दै पुस्तान्तरण गर्नु पर्ने बताए । ‘जसरी देउ बहादुर दुरा र पञ्चसुब्बा गुरुङले ठाडोभाका गायन कला भेडिखर्के साइलालाई हस्तान्तरण गरेका थिए , त्यसरी नै धम्पु दुरा लगायत गायकले आजका नयाँ पुस्तालाई हस्तान्तरण गर्दै जानु पर्छ ।’ मन्त्री पौडेलले भने ।

त्यस अवसरमा ठाडोभाका-टिकाकुमारी ढुङ्गाना स्मृति पुरस्कारबाट सम्मानित त्रि. वि. को नेपाली केन्द्रिय विभागका प्रमुख प्रा.डा. कृष्णप्रसाद न्यौपानेले पछिल्लो समय नेपालका पुराना गित, भाकाहरु लोप हुँदै गएकाले यूवा पुस्ताले यसको संरक्षणमा लाग्नु पर्ने बताए । ‘अहिले ६४/६५ वर्ष देखि ८०/८१ वर्ष सम्मका बृद्धहरु विद्यावाधि (पिएचडी) गर्न आउछन्, यूवा हरु विदेश पलायन भएका छन् , यो गम्भिर समस्या हो ।’ – प्रा. डा. न्यौपानेले भने ।

त्यस अबसमा कार्यक्रममा ठाडोभाका-ह.ने. सन्तबहादुर गुरूङ स्मृति पुरस्कारबाट टसबहादुर गुरूङलाई २२ हजार २ सय २२ रूपैँया सहित सम्मान पत्र र दोसल्ला ओढाई सम्मान गरिएको थियो ।
कार्यक्रममा जिल्ला पञ्चायतका पूर्व सभापति गज बहादुर गुरुङ, नेपाली काङ्ग्रेस गण्डकी प्रदेश संगठन विभागका प्रमुख हरि बराल, नेपाली काङ्ग्रेस लमजुङ जिल्ला सचिव विमल श्रेष्ठ, रास्वपा जिल्ला सदस्य होम बहादुर राउत, चिती साहित्य समाजका पूर्व अध्यक्ष स्थिर घिमिरे, ह.ने. सन्तबहादुर गुरूङ स्मृति पुरस्कारका संरक्षक निर्मला गुरूङ लगायतले ठाडो भाकाको संरक्षणमा लाग्नु पर्ने बताएका थिए ।
भोली सम्म चल्ने ठाडो भाका मेलामा ठाडो भाका प्रतियोगिताका लागि १५ टिमको सहभागिता रहेको छ भने बाघचल र पात बजाउने प्रतियोगिता समेत हुने भएको छ। कार्यक्रम ठाडोभाका लोककला प्रतिष्ठान नेपालका अध्यक्ष नवराज अधिकारीको सभापतित्वम भएको थियो ।