हेडलाईनसमाचारगण्डकीविजनेस

अलैँची खेतीको हव बन्दै लमजुङ : अलैँची बिक्रिबाट  बाईस करोड आम्दानी, पाँच पालिका जोन पकेट क्षेत्र घोषणा

• विजय अधिकारी (संवाददाता ) प्रहार समाचार । लमजुङ, ८ माघ २०८१ मङ्गलवार ।  खोल्साको कालो सुन भनेर चिनिने अलैंची खेतीको हवको रूपमा लमजुङ परिचित हुन थालेको छ। लमजुङका किसानले अलैँची खेती गरेर बाईस करोडको आम्दानी हात पार्न सफल भएका छन्।

यस वर्ष जिल्लामा प्रतिकिलो १ हजार ५ देखि २ हजार ४ सय सम्ममा अलैँची बिक्री भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई लमजुङका निमित्त वरिष्ठ कृषि  अधिकृत हरिबहादुर मिजारले बताए । भिजारका अनुसार-चालु आर्थिक वर्षमा जिल्लामा उत्पादित १ सय ५० मेट्रिक टन अलैँची कृषकले बिक्री भएको छ ।

आर्थिक वर्ष २०८०/०८१ मा जिल्लाका कृषकले २ सय ५१ मेट्रिक टन अलैँची बिक्री गरी २४ करोड आम्दानी गरेका थिए । गत वर्ष कृषकले प्रतिकिलो १ हजार २ सयका दरले अलैँची बिक्री गरेका थिए भने यस वर्ष उत्पादन घटेको वरिष्ठ कृषि अधिकृत  मिजारले जानकारी दिए ।

त्यस्तै आर्थिक वर्ष २०७९/०८० मा  ३ सय ८० मेट्रिक टन अलैँची बिक्रीबाट २० करोड आम्दानी भएको थियो । त्यस वर्ष प्रतिकिलो अलैँची कम्तीमा ५ सय ५० देखि ७ सय सम्म बिक्री भएको थियो । आ.व. २०७८/०७९ मा ३ सय ३५ मेट्रिक टन अलैँची बिक्री गरी १५ करोड आम्दानी भएको,आ.व.२०७७/०७८ मा ३ हजार ५ सय क्विन्टल अलैँची बिक्री गरी १८ करोड २० लाख आम्दानी भएको,आ.व .२०७६/०७७ मा जिल्लामा २ हजार क्विन्टल अलैँची बिक्री गरि १२ करोड आम्दानी भएको  थियो ।


त्यसैगरी,आ.व. २०७५/०७६ मा ७ सय ५० क्विन्टल अलैँची बिक्री गरी ५ करोड २५ लाख आम्दानी भएको अधिकृत  मिजारले प्रहार समाचारलाई जानकारी दिए ।त्यस्तै भारतको एकाधिकारका कारण किसानको मागअनुसार अलैँचीको मूल्य नपाएको गुनासो भए पनि यस वर्ष केही राहत महसुस गरेको अलैँची व्यवसायी महासंघ लमजुङका अध्यक्ष सोम तामाङले जानकारी दिए ।


उनका अनुसार-हावापानीको दृष्टिकोणले लमजुङमा अलैँचीको सम्भावना निकै राम्रो भए पनि मौसम प्रतिकूल हुँदा अपेक्षित उत्पादन हुन नसकेको उनको भनाइ छ । जिल्लामा सबैभन्दा धेरै मर्स्याङ्दी गाउँपालिकाका किसानले अलैँची उत्पादन गर्ने गरेका छन् ।


मर्स्याङ्दी गाउँपालिकाका वडा नम्बर-५, सन्जापुका स्थानीयले मात्र यस वर्ष ६ हजार ७ सय केजी अलैँची बिक्री गरी १ करोड ५० लाख आम्दानी गरेको अलैँची कृषक समूहका सन्जापुका अध्यक्ष कामकाशि गुरुङले जानकारी दिए । उनले  गाउँका करिब ६० घरधुरीले लगाएको अलैँची खेतीबाट उक्त आम्दानी भएको बताए ।


जिल्लामा ७ सय ५० हेक्टर क्षेत्रफलमा अलैँची खेती हुँदै आए पनि ३ सय ७५  हेक्टर क्षेत्रफलमा मात्र अलैंची उत्पादन  हुँदै आएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले लमजुङको बेसीशहर नगरपालिका,मर्स्याङ्दी,क्व्होँलासोथार, दोर्दी र दूधपोखरी गाउँपालिकालाई अलैँची जोन पकेट क्षेत्रका रुपमा घोषणा गरिसकेको छ । उक्त क्षेत्रमा सबैभन्दा बढी अलैँची उत्पादन हुने गरेको छ ।


जिल्लामा ७ सय मिटर देखि १ हजार २ सय मिटर उचाइमा साउन्ने,जिर्मले र डम्बर शाही,१ हजार २ सय मिटर देखि १६ मिटर उचाइमा गोलशाही र १ हजार ६ सय देखि २ हजार २ सय मिटर उचाइमा रामशाही र भलाङे जातका अलैँची बिरुवा लगाईएको कृषि ज्ञानकेन्द्र लमजुङले जनाएको छ । 

केन्द्रका अनुसार-वषौँ देखि बाँझो रहेको जग्गामा कृषकहरूले मुख्य आम्दानीको स्रोतका रूपमा अलैँची खेती गर्दै आइरहेका छन् । अन्न नफल्ने भिरालो खोल्सा र अन्य बाली नलाग्ने पाखा–भित्तामा खेती गर्न सकिने र आम्दानी पनि राम्रो हुने भए पछि कृषकहरू अलैँची खेती तर्फ आकर्षित भएका हुन । लमजुङ जिल्लामा वि.सं. २०४१ बाट अलैँची खेती विस्तार हुँदै आएको हो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button