• विजय अधिकारी (संवाददाता ) प्रहार समाचार । लमजुङ २१ पुस २०८१ आइतवार । लमजुङ जिल्लाकै सर्वाधिक पुरस्कार राशि रहेको ३२औं त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिता २०८१ को उपाधि विभागिय टोली नेपाल एपिएफ फुटबल क्लव काठमाडौंको पोल्टामा परेको छ ।

लमजुङ सदरमुकाम बेसीशहरको त्रिवेणी रंगशालामा हिंजो भएको निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको फाइनल खेलको १३ औं मिनेटमा समिर तामाङले गोलगर्दै बिवाइसीलाई १-० को अग्रता दिलाए । ३१औं मिनेटमा एपीएफका युवराज खड्काले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए । ५१ औं मिनेटमा हरि कार्कीले गोल गर्दै एपीएफलाई २-१ को अग्रता दिलाए । अन्तिम तीन मिनेट सम्हालिन नसक्दा एपिएफ निर्धारित समयमा उपाधी आफ्नो पोल्टामा पार्न बाट चुकेको थियो ।

खेल सकिन छैटौं मिनेट बाँकी रहदा विवाईसीका समिराज थोकरले गोल गर्दै खेललाई २,२ गोलको बराबरीमा ल्याएका थिए ।
प्रतियोगिताको निर्धारित खेल समयमा २-२ गोलको बरावरी भए पछि र अतिरिक्त समयमा पनि कुनै पनि गोल हुन नसके पछि तीन पटकको विजेता बुद्ध युवा क्लब (विवाइसी) भोेटेवडार लमजुङलाई टाइब्रेकरमा ४-३ ले पराजित गर्दै एपिएफले पहिलो सहभागितामै ३२ औं राष्ट्रव्यापि त्रिवेणीकपको उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो ।

उपाधी संगै विजेता नेपाल एपिएफ काठमाडौले १२ लाख पुरस्कार राशी सहित त्रिवेणी कप,स्वर्णपदक र प्रमाणपत्र हात पारेको छ भने प्रतियोगिताको उपविजेता बुद्ध युवा क्लव(विवाईसी) भोटेओडार लमजुङले ६ लाख रुपैया सहित,रजतपदक र प्रमाणपत्र हात पार्न सफल भएको छ ।
प्रतियोगितामा खेल अवधिभर ६ गोल गरी एपिएफका प्रदिप लामाले सर्वाधिक गोलकर्ताको उपाधि हात पारेका छन् भने बुद्ध युवा क्लव भोटेवडारका ईमिनियलले उत्कृष्ट खेलाडि उपाधि हात पारेका छन् । दुबैलाई नगद २५-२५ हजार रुपैयाँ पुरस्कार सहित पदक र प्रमाणपत्र हात प्रदान गरिएको क्लबका अध्यक्ष राजकुमार घिमिरेले प्रहार समाचारलाई जानकारी दिए ।

एपिएफका गोलरक्षक एन्जल श्रेष्ठ फाइनल खेलको म्यान अफ दि म्याच घोषित भए । उनले पुरस्कार स्वरूप नगद १० हजार रुपैयाँ र ट्रफी प्राप्त गरे ।
प्रतियोगिताको सेमीफाइनलमा पराजित दुई टिम आयोजक त्रिवेणी युवा क्लब र टोखा भगवती क्लव काठमाडौंलाई नगद २-२ लाख रुपैयाँ र प्रमाण पत्र पुरस्कार प्रदान गरीएको छ ।

विजयी टोली तथा खेलाडीलाई गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे,गण्डकी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री भेष बहादुर पौडेल, बेशीशहर नगरपालिकाका मेयर गुमान सिंह अर्याल,मध्य नेपाल नगरपालिकाका मेयर रमेश कुमार पाण्डे,सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइराला क्व्लोलासोथर गाँउपालिकाका अध्यक्ष सुर्य प्रसाद गुरुङ,दोर्दी गाँउपालिकाका अध्यक्ष युवराज अधिकारी र क्लबका अध्यक्ष राज कुमार घिमिरे लगायतले संयुक्त रूपमा पुरस्कार वितरण गरेका थिए ।
क्लबका अध्यक्ष राजकुमार घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण क्लवका सचिव प्रविण वाग्लले गरेका थिए ।
यहि पुस १२ गते बाट सुरु भएको ३२ औं त्रिवेणी कप २०८१ मा ए डिभिजन अन्तर्गतका ५ टिम सहित १६ टिमको सहभागिता थियो ।
























