• विजय अधिकारी (संवाददाता ) । लमजुङ, १४ पुस २०८१ आइतवार । लमजुङको राईनास नगरपालिका वडा नम्बर-८, हर्राबोटमा रहेको महिलाहरुबाट संचालित मिलिजुलि कृषि ताजा तरकारी उत्पादक सहकारी संस्था लि.को २०औं बार्षिक साधारणसभा हिंजो सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटगर्दै राईनास नगरपालिकाका नगर प्रमुख खडगबहादुर गुरुङले सहकारीका बारेमा बजारमा जे जस्तो हल्ला चलेपनि महिलाहरुले संचालन गरेको मिलिजुली सहकारीले राम्रो काम गरेको बताए ।
नगर प्रमुख गुरुङले उनले भने -‘सहकारी संचालन गर्दा पारदर्शीतामा ध्यान दिनु पर्छ । नगरपालिकाको तर्फबाट सबै प्रकारको सहयोग हुन्छ ।’

संस्थाका अध्यक्ष विष्णुमाया धितालले सहकारीको बार्षिक प्रगती प्रतिवेदन प्रस्तुत कार्यक्रममा राईनास नगरपालिकाका उपप्रमुख पुष्पराज खनाल, जिल्ला सहकारी संघका अध्यक्ष विजय गुरुङ, राईनास वडा नम्बर-८, का वडा अध्यक्ष कृष्णबहादुर रानाभाट, राईनास महिला बालबालिका शाखा प्रमुख सीता गैह्रे, जिल्ला वचत संघका संचालक सदस्य दुर्गाबहादुर रानाभाट, कालीगण्डकी साकोसका अध्यक्ष मानबहादुर घर्ती, अनन्त त्रिपाठी, संस्थाकी पुर्व अध्यक्ष लक्ष्मी अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

त्यस अबसरमा संस्थालाई विशेष सहयोग पुर्याउने कृष्णराज ओलिया, सीता गैह्रे र नविनकुमार श्रेष्ठका अतिरिक्त असल कृषि, एकल महिला, जेष्ठ सदस्य, बाल वचत कर्ता, असल र सफल व्यवसायी र दुई मा.वि.का एस इ इ मा उत्कृष्ट अंक ल्याउने छात्राहरूलाई सम्मान गरिएको थियो ।

सामाजिक परिचालिका अम्बिका ओलियाद्वारा सहजिकृत कार्यक्रममा संस्थाकी उपाध्यक्ष जमुना कंडेलले स्वागत गरेकी थिइन् ।


२०६२ सालमा स्थापना गरिएको संस्थाको हाल ५ सय ११ जना सेयर सदस्य रहेका छन् भने संस्थाले हाल सम्म ३ करोड बराबरको कारोबार गरेको संस्थाकी अध्यक्ष धितालले प्रहार समाचारलाई जानकारी दिइन् । संस्थाले कृषिमा ७० प्रतिशत र अन्यमा क्षेत्रमा ३० प्रतिशत लगानी गर्ने गरेको छ ।

























