• विजय अधिकारी (संवाददाता ) प्रहार समाचार । लमजुङ,९ पुस २०८१ मङ्गलवार । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले नेपालको स्वाधिनताको रक्षा गर्न सकियो भने मात्र भ्रष्टाचारको अन्त्य गर्न सकिने बताएका छन् ।

नेकपा माओवादी केन्द्र बेसीशहर नगर समितिको दोस्रो अधिवेशन तथा बेसीशहरको भिमसेनस्थान चोकमा भएको खबरदारी सभामा आज बोल्दै गुरुङले यस्तो बताएका हुन् ।

अहिले बेला न कुबेला संविधान संसोधनका नाममा पश्चगामी मुद्धा उरालेर प्राप्त उपलब्धी माथि हमला गर्ने र द्वन्द्व मञ्चाउने खालका गतिविधि भएका छन् भन्दै यस्ता गतिविधि रोक्न नसके देश थप बर्बादी तिर जाने महासचिव गुरुङले बताए ।

सम्मेलनमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य पारसमणि पौडेल, मधु अधिकारी, लाल बहादुर गुरुङ, सतिमाया तामाङ, केन्द्रीय सल्लाहकार हेमकुमारी सुनार, चित्रबहादुर कार्की, प्रदेश सहसचिव मेख बहादुर भण्डारी, जिल्ला सचिव सुनिल सुनार, प्रदेश सदस्य हरिजंग तामाङ, राइनासका अध्यक्ष प्रमोद दवाडी, मध्यनेपालका अध्यक्ष लालजंग दुरा, मर्स्याङ्दी गाउँपालिका अध्यक्ष होमराज तामाङ लगायतको उपस्थिति रहेको थियो ।

सम्मेलनको दोस्रो सत्रमा शिव थापा र गम बहादुर दनाईको निर्वाचन मण्डल गठन गरिएको छ । निर्वाचन मण्डलले सर्वसहमतिमा नेकपा माओवादी केन्द्र बेसीशहर नगर समिति चयन गर्ने भएको छ । बेसीशहर नगर समितिका अध्यक्ष देवबहादुर गहतराजको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष भुपाल दनाईले स्वागत गरेका थिए भने सचिव शान्ति बहादुर बस्नेतले कार्यक्रमको सहजिकरण गरेका थिए ।

























