प्रहार समाचार । तनहुँ,९ पुस २०८१ मङ्गलवार । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदी रम्घालाई नेपालकै उत्कृष्ट साहित्यिक तिर्थस्थलका रूपमा विकास गर्नु पर्ने बताएका छन् ।

अध्यक्ष ढकालले भानु नगरपालिका वडा नं १ भन्सारमा आयोजित प्रथम भानु नगर महोत्सव २०८१को उद्घाटन गर्दै उक्त कुरा बताएका हुन्। अध्यक्ष ढकालले आफू पश्चिमाञ्चल विकाश मञ्चको अध्यक्ष भएका बखत भानुको घरको पुनर्निर्माण गर्ने निर्णय गरेको चर्चा गर्दै छिट्टै उक्त घर निर्माण हुने विश्वास लिए ।

उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले देश भित्रै धेरै सम्भावना रहेकोले उद्योग , व्यापार र वाणिज्य क्षेत्रमा सरकारले लगानी गर्नु पर्ने बताए ।

कार्यक्रमा भानु नगरपालिकाका नगरप्रमुख आनन्दराज त्रिपाठीले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदीरम्घालाई भाषिक धामको रुपमा विकास गर्न नगरपालिकाले पहलकदमी गर्दै आएको र यस्ता मेला महोत्सबले प्रचार प्रसारमा थप टेवा पुग्ने बताए ।

तनहुँ उद्योग बाणिज्य संघका अध्यक्ष बैकुण्ठ मिश्र ,पूर्व अध्यक्ष मानकाजि श्रेष्ठ, गण्डकी प्रदेशका पूर्व सदस्य मंगलप्रसाद श्रेष्ठ, आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका अध्यक्ष रामकुमार श्रेष्ठ , नेकपा एमाले भानुका अध्यक्ष शंकर रानाभाट , प्रथम उपाध्यक्ष राजन श्रेष्ठ लगायतले महोत्सवले स्थानिय कृषि उत्पादनको बजारीकरणमा टेवा पुग्ने बताएका थिए ।

भानु नगर उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सव मूल समारोह समितिका संयोजक कृष्ण कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न उद्घाटन कर्यक्रमको सहजिकरण महासचिव कृष्णचन्द्र कोइरालाले गरेका थिए ।

‘कला, साहित्य शिक्षा र पर्यटन कृषि व्यापार उद्योग भानुको पहिचान’ भन्ने मूल नाराका साथ आयोजित महोत्सवमा विभिन्न झाँकी सहितको ऱ्यालीले नगर परिक्रमा सहित आआफ्नो कला संस्कृति तथा रितिरिवाज तथा परम्पराहरु प्रदर्शन गराएका थिए । महोत्सवमा १ सय २० वटा स्टलहरु रहेका छन् ।
१ लाख ५० हजार दर्शकहरुले अवलोकन गर्ने लक्ष्य राखिएको महोत्सवमा झण्डै ३ करोडको आर्थिक करोबार हुने लक्ष्य राखिएको छ। महोत्सवले नेपाली साहित्यका धरोहर आदिकवि भानुभक्त आचार्यको जन्मथलोको प्रवद्र्धनमा टेवा पुग्ने विश्वास आयोजकले गरेको छ ।
महोत्सवबाट भएको आम्दानीले नगर उद्योग वाणिज्य संघको अधूरो भवन निर्माणमा खर्च गरिने बताइएको छ । महोत्सव पौष १९ गते सम्म संचालन हुने छ।

























