प्रहार समाचार । तनहुँ ५ पुस २०८१ शुक्रवार । तनहुँमा नेपाल मानव अधिकार वर्ष पुस्तक २००५ को पूर्व समिक्षा गरिएको छ।

जिल्लाको मानव अधिकारको अवस्था तथा तनहुँ जिल्लाको मानव अधिकारको अवस्थाको वारेमा आज दमौलीमा समिक्षा गरिएको हो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र ( इन्सेक ) तनहुँद्वारा आयोजित कार्यक्रमा बोल्दै प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले मानव अधिकार उलङ्घन हुनु निन्दनिय कुरा भएकाे बताउँदै घटना घटाउनेलाई कानुन बमोजिम कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरे ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक विरेन्द्र बहादुर शाहीले कानुन सबैकालागि समान भएकाले कानुनले दिएको अधिकार सबैले पालना गर्नु पर्ने बताए ।

कार्यक्रममा नेकपा एमाले तनहुँका उपाध्यक्ष राजेश्वर ढकाल ,नेपाली कांग्रेस जिल्ल सदस्य सिर्जना तिवारी, महिला मानव अधिकार रक्षक सञ्जाल तनहुँकी अध्यक्ष कल्पना पौडेल ,नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपी अधिकारी , पूर्व अध्यक्ष ओमकार आचार्य , संयुक्त दलित उत्थान मञ्य तनहुँका सह सचिव दिपक खाती, अपाङ्ग अधिकार कर्मी मदन पौडेल लगायतले मानव अधिकारका उल्लङ्घनका घटनाहरु भए ताकाल सम्बन्धित निकायमा खबर गर्न आग्रह गरेका थिए ।

त्यस अबसरमा हत्या, कुटपिट/ धम्की/ दुर्व्यवहार, महिला अधिकार विरुद्ध हुने सबै प्रकारको भेदभाव, दुर्व्यवहार, बाल अधिकार, शिक्षा, स्वास्थ्य, स्वास्थ्य विमाको अवस्था , खाद्य, वातावरण , अपाङ्गता अधिकार तथा जिल्ला कारागारको अवस्थाका बारेमा चर्चा परिचर्च गरिएको थियो ।

मानव अधिकार सञ्जाल तनहुँका सदस्य बसुन्धरा घर्तीको सभापतित्वमा भएको कार्यक्रमको सहजिकरण इन्सेक जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले गरेका थिए ।
























