•अशोक विश्वकर्मा । तनहुँ , ३ पुस २०८१ बुधवार । नेपाली समाजका छोरीहरु पनि छोरा जति नै सक्षम छन् भन्ने कैयन उदाहरणहरु छन् । विशेषत बुबाको निधन पछि गरिने कर्मकाण्डमा भने छोराको आवश्यकतालाई प्राथमिकता दिने नेपाली समाजमा छोरीहरुले समेत उत्तिकै सहभागिता जनाउन सुरु गरेका छन् । यसैको उदाहाणीय पात्र हुन् – तनहुँको शुक्लागण्डकी नगरपालिका १ काठिपिपलकी तारा कुवंर । कुँवरले अहिले आफ्नो आमाको क्रिया कर्म एक्लै अघि बढाएर १३ दिने कर्म पूरा गरेकी छन् ।

गत मंसिर २० गते दुई छोरीकी आमा रुपन कुँवरको अल्यायुमा नै मृत्युभएपछि तारा बैदेशिक रोजगारीबाट फर्कि आफ्नै हातले दागवती दिएकी थिइन् ।
‘आमाको इच्छा थियो छोरीले क्रिया गरोस्, आमाको बचन पुरा गर्न पाएकोमा खुशी छु ।’ उनले भनिन् । छोरा जत्तिकै भूमिका छोरीहरुको समेत हुनुपर्ने दावि गर्दै समाजमा यस्ता क्रियाकलापमा लैगिक रुपमा भएको असमान ब्यवाहार हट्नुपर्ने उनको भनाइ छ।
१३ दिनसम्मको काजक्रियामा बसेर तारालाई स्थानीय पण्डित कालिदाश पौडेलको समेत सहयोग र साथ दिएका थिए । पण्डित पौडेलले छोरीसमेत आफ्नै सन्तान भएको हुदाँ कर्मकाण्डमा सहभागि हुन मिल्ने बताउँछन् । ‘पछिल्लो समय छोरीहरुको भूमिका नेपाली समाजमा प्रभावकारी बन्दै भएको र आमा बुवाको लालनपालनमा समेत छोरीहरु बढी सक्रिय देखिएकाले काजक्रियामासहभागि हुन कुनै रोकतोक गर्न हुँदैन ।’- पण्डित पौडेलले भने । दुई छोरीमात्र भएपछि छोराकै लागि सन्तान संख्या नबढाएका घनश्याम अहिलेको दुःखद् परिस्थितीमा समेत खुशी देखिन्छन् । आफ्नो र श्रीमतीको मृत्युपछिको परिस्थितीबारेमा समाजको गाईगुईले बेलाबेलामा चिन्तित बनाउने गरेको स्मरण गर्दै घनश्यामले अहिले समाजमा आफ्नै परिवारबाट उदाहरणीय कामको थालनी भएकोमा सन्तुष्ट छन् । अर्की छोरी परिस्थितीबस आमाको काजक्रियामा सहभागि हुन नपाएको गुनासो गर्दै उनले छोरीहरुको भूमिकाले छोरा नै चाहिन्छ भन्ने मान्यता मिथ्या मात्र रहेको बताए ।

स्थानीय नारायण विकले समेत कुवर परिवारमा छोरीले देखाएको उदाहरण सिको गर्न लायक रहेको बताए । सामाजिक रुपमा रहेको कुसंस्कारहरुलाई हिम्मतले मात्र परिवर्तन गर्न सकिने दावि गर्दै विकले यस्ता कदममा समाज र शिक्षित समुदायलको साथ आवश्यक सहयोग जरूरी रहेको बताउँछन् ।
























