• विजय अधिकारी । ( संवाददाता ) काठमाडौं, ४ मंसिर २०८१ मङ्गलबार । काठमाडौं साइबर अपराध कसुरमा आज पक्राउ परेका मेडिकल व्यवासायी दुर्गा प्रसाईंलाई भोलि बुधबार अदालत लगि म्याद थप गरिने भएको छ ।

केही कागजात र प्रक्रियाका कारण आज अदालत लैजान ढिला हुने देखिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका प्रबक्ता एसपी होबिन्द्र बोगटीले जानकारी दिए । उनका अनुसार – पक्राउ परेको २४ घन्टा भित्र म्याद थप गर्नुपर्ने भएकोले भोलि फस्ट आवोरमा नै जिल्ला अदालतबाट म्याद थप गर्ने प्रक्रिया अगाडि बढाउने र पछि अनुसन्धान गर्न भोटाहिटीस्थित साइबर ब्युरोलाई बुझाइने छ।
भक्तपुर स्थित आफ्नै घरबाट समातिएका उनलाई सिआइबिको कार्यालयमा लगेर मेडिकल गरिएको थियोे । प्रसाईं माथि साइबर अपराध , किर्ते र मानहानी लगायतको मुद्दा चलाउने सिआइबिको तयारी छ ।
प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीको २१ करोड डलर कम्बोडियामा लगानी रहेको प्रमाण भन्दै सोमबार एक भिडियो सार्वजनिक गरेका थिए । सोही कसुरमा उनलाई पक्राउ गरिएको थियो ।
यसअघि पनि प्रसाईं एक महिलाले आफ्नो चरित्रहत्या हुने खालको अभिव्यक्ति दिएको भन्दै उजुरी दिएपछि पक्राउ परेका थिए । उक्त कसुरमा धरौटीमा छुटेका प्रसाईं पुनः साइबर अपराधमा पक्राउ परेका हुन् ।

























