प्रहार समाचार । तनहुँ, ४ कात्तिक २०८१ मङ्गलवार । तनहुँ जिल्लाको ऋषिङ गाउँपालिका वडा नं ८ मा रहेको रानीपोखरी स्वास्थ्य चौकीमा पहिलो पटक सुत्केरी महिलाको लागि सुत्केरी बेड र अक्सिजन सिलिन्डरको थप व्यवस्था गरिएको छ। सुत्केरी बेड र अक्सिजन सिलिण्डर भएपछि सुत्केरी महिलाहरुलाई थप राहत मिलेको छ।

ऋषिङ्ग गाउँपालिकाका वडा नं ८ का वडा अध्यक्ष भरतकृष्ण श्रेष्ठले रानीपोखरी स्वास्थ्य चौकीमा सुत्केरी महिलाको लागि स्तरिय सुत्केरी बेड र अक्सिजन सिलिन्डरको अभाबमा धेरै नै समस्या झेल्नु परेको कुरा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेललाई अबगत गराएका थिए। मन्त्री पौडेलले महिला, त्यहिमाथि सुत्केर जस्तो संवेदनशिल विषयमा तत्काल स्तरिय सुत्केरी बेड र अक्सिजन सिलिन्डरको प्रदान गर्नु भन्ने तोक लगाइदिएका थिए ।

मन्त्री पौडेलको तोक आदेशको पत्र लिएर आफू हिंजो काठमाडौंबाट बारा जिल्लाको पथलैयामा आफ्नै नीजि सवारी साधन निजि खर्चमा पुगेर आज नै सुत्केरी बेड , अक्सिजन सिलिण्डर र अन्य स्वास्थ्य सामाग्रीहरु लिएर रानीपोखरी स्वास्थ्य चौकी पुगेर स्वास्थ्य चौकीलाई उक्त सामाग्रीहरु हस्तान्तरण गरिएको वडा अध्यक्ष श्रेष्ठले प्रहार समाचारलाई बताए । वडा अध्यक्ष श्रेष्ठले भने ‘ स्वास्थ मन्त्री पौडेलले राम्रो रेस्पोन्स गर्नु भयो त्यसैको परिणाम स्वरूप वडाका सुत्केरी महिलाहलाई स्तरीय सुत्केरी बेड र अक्सिजन सिलिण्डरले ठूलो राहतको महसुस भएको छ। ‘ आफू एउटा वडाको जन प्रतिनिधि भएपनि सिङ्गो ऋषिङ गाउँपालिका जनताहरुको सुख दुःखमा सधैं संङ्गै रहने अध्यक्ष श्रेष्ठले बताए ।

स्मरणीय छ वडा अध्यक्ष श्रेष्ठले आफ्नो वडा लगायत छिमेकी वडाका दुखी, असहाय , बृद्ध बृद्धा हरुलाई निशुल्क रूपमा जुन सुकै बेला पनि अस्पताल सम्मा आफ्नै नीजि सवारी साधनमा पुऱ्याउने गरेको स्थानियहरुले बताएका छन् ।
























