हेडलाईनसमाचारप्रदेशमनोरञ्जन

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिएर मनाइँदै

प्रहार समाचार । तनहुँ, २२ कात्तिक २०८१ बिहिवार । आज छठ पर्वको मुख्य दिन साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिएर मनाइँदै छ।  कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मङ्गलबारदेखि शुरू भएको थियो ।

विशेष गरेर  तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरि धुमधामका साथ छठ पर्व सुरु भएको छ।

छठ पर्व महोत्तरीको १५ वटै पालिका सदरमुकाम जलेश्वर, मटिहानी,  गौशाला, पिपरा, सम्सी, बर्दिवास, औरही, मनरासिस्वा, लोहारपट्टी, एकडारा, सोनमा, रामगोपालपुर, बलवा, महोत्तरी र भंगाहाका सम्पूर्ण सहरी एवं ग्रामीण क्षेत्रमा रहेको विभिन्न पोखरी, तलाउ तथा ती पालिका भएर बग्ने जिल्लाको प्रसिद्ध नदी बिग्ही, रातो मरहा, जङ्गहा, अङ्कुसी नदी तथा नहरको किनारमा धार्मिक विधिपूर्वक मनाइँदै आइएको पाइन्छ ।

तराईको केहि क्षेत्र केन्द्रित मनाइने छठ पर्व अहिले आएर हिमाल, पहाड अनि तराई सर्वत्र प्रचलित हुँदै आएको छ । सद्भाव अनि दातृत्वको प्रतीक यस पर्वलाई बडो हर्ष अनि उल्लासका साथ नदी, तालतलैया र पोखरीको किनारामा श्रृङ्गारीएर तयार पारिएका घाटहरू, केराका थम्बा, झिलिमिली बत्तीबिच अस्ताउँदो र उदाउँदो दुवै सूर्यको लालीकिरणलाई दूधको अर्घ्य दिएर मनाइन्छ ।

पर्वको मुख्य दिन आज कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिने विधि विधान रहेको छ। षष्ठी कै  दिन रातभर जागा बसी कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अर्र्घ दिएपछि यो पर्व समापन हुन्छ ।

छठ पर्वका लागि राजधानीको गुह्येश्वरीबाट गौरीघाट क्षेत्र, कमलपोखरीलगायत वागमती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरिएको छ । छठका बर्तालुले कार्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् । 

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा गुप्तवास सफलहोस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । 

सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको शुरूआत भएको मानिन्छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button