हेडलाईनसमाचारप्रदेश

‘आमसञ्चार माध्यम लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्ड हो ।’ -राष्ट्रपति पौडेल 

प्रहार समाचार । काठमाडौँ छ असोज २०८१ आइतबार । राष्ट्रपति रामचन्द्र पौडेलले आमसञ्चार माध्यम लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्ड भएको बताएका छन् ।
प्रेस काउन्सिल नेपालको ५५औँ वार्षिकोत्सवका अवसरमा आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले उक्त कुरा बताएका हुन्।

राष्ट्रपति पौडेलले भने – ‘संघीय लोकतान्त्रिक गणतन्त्रको प्रतिफल जनताको घर, आँंगनसम्म पुऱ्याउने कामका लागि शासन सञ्चालनमा बसेकाहरूलाई घच्घचाएर लोकतन्त्रप्रति जनताको भरोसा अभिवृद्धि गर्ने काममा तपाईँहरूले अझै जिम्मेवार भएर काम गर्नुहुनेछ भन्ने पनि मैले विश्वास लिएको छु । ‘

राष्ट्रपति पौडेलले स्वतन्त्र, निष्पक्ष र जिम्मेवार पत्रकारिताबिना लोकतन्त्र सुदृढ हुन नसक्ने भन्दै यही कारणले पत्रकारितालाई चौथो अंगका रुपमा सम्मान प्राप्त भएको स्पष्ट पारे ।
राष्ट्रपति पौडेलले जिम्मेवारीपूर्ण, सन्तुलित र तथ्ययुक्त सूचना सम्प्रेषणबाट मात्र राज्यको चौथो अङ्गको रुपमा पत्रकारिता जगतले पाएको सम्मानलाई जीवन्त राख्न सक्ने विश्वास प्रकट गरे ।


राष्ट्रपति पौडेलले  प्रेसको स्वतन्त्रता र पत्रकारिताको मर्यादामाथि कतैबाट प्रश्न उठ्न नदिन काउन्सिल स्वयम्ले निष्पक्ष, स्वतन्त्र तथा सिर्जनात्मक भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताए ।
प्रेस काउन्सिल नेपालको ५५औँ वार्षिकोत्सवका अवसरमा प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार अखण्ड भण्डारीलाई र प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार बद्रि सिग्देललाई प्रदान गरिएको थियो । यसका साथै काउन्सिलको  वार्षिकोत्सवमा विभिन्न व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button