प्रहार समाचार । काठमाडौं २५ साउन २०८१ शुक्रवार । नेपाली सेनाका बलाधिकृत रथी अशोकराज सिग्देलले आजबाट नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिको कमण्ड सम्हालेका छन् । प्रधानसेनापति प्रभुराम शर्मा आजबाट बिदामा बसेपछि सिग्देलले कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी पाएका हुन् । नेपाली सेनामा प्रधानसेनापति अवकास पाउनुभन्दा एक महिना अघिदेखि बिदामा बस्ने चलन छ ।

प्रधानसेनापति शर्माले भदौ २४ गते अवकास पाउने छन् । यही साउन १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले रथी सिग्देललाई सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा ३ बमोजिम साउन २५ गतेदेखि लागू हुने गरी कायममुकायम प्रधानसेनापति तोक्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
त्यसपछि, राष्ट्रपति रामचन्द्र पौडेलले साउन १६ गते ज्येष्ठता क्रममा रहेका बलाधिकृत रथी सिग्देललाई साउन २५ गतेदेखि लागू हुनेगरी नेपाली सेनाको कायममुकायम प्रधानसेनापति तोकेका थिए ।




















