प्रहार समाचार । तनहुँ १३ साउन २०८१ आइतवार । गण्डकीका यातायात व्यवसायीले आजदेखि आजदेखि सार्वजनिक यातायातका साधनहरु बन्द गरेका छन् । यातायात बन्द भएसँगै लाखौ यात्रुहरुलाई समस्या परेको छ। राइड सेयरिङको विरोध गर्दै यहाँका यातायात व्यवसायी आन्दोलित भएका हुन् ।

३ दिनअघि पत्रकार सम्मेलन गर्दै व्यवसायीले सरकारलाई ध्यानाकर्षण गराउँदै शनिबार रातिसम्मको अल्टिमेटम दिएका थिए । तर आफ्ना माग सुनुवाइ नभएको भन्दै व्यवसायीले आफ्ना गाडीहरू घर र ग्यारेजमा थन्क्याएको यातायात व्यवसायी राष्ट्रिय महासङ्घ गण्डकीका सचिव योगेन्द्र केसीले जानकारी दिए ।
उनका अनुसार माग सम्बोधन नहुँदासम्म पछि नहट्ने व्यवसायीको तयारी छ । सरकारले अघिल्लो वर्षदेखि नीति तथा कार्यक्रममा नै राइड सेयरिङलाई वैधता दिने समेटेको थियो । तर कानुन र कार्यविधि नहुँदा अघि बढ्न पाएन । यो वर्ष पनि नीति तथा कार्यक्रम र बजेटमा राखिएको छ । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा कार्यविधि पास गरेर राजपत्रमा प्रकाशन गर्ने तयारी गरेको थियो ।
।
तर पहिले नै व्यवसायीहरूले थाहा पाएपछि उक्त बैठकको एजेन्डामा प्रवेश गरेन । यद्यपि व्यवसायीका आन्दोलन यथावत् छ । त्यसदिन उनीहरुले पोखराका सडकभर गाडी उतारेर प्रदर्शन गरेका थिए । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था सचिव शंकर पण्डित र प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई ज्ञापनपत्र बुझाएका थिए ।
























