प्रहार समाचार । तनहुँ ९ साउन २०८१ बुधबार । तनहुँको व्यास नगरपालिकामा स्तनपान कक्ष सञ्चालन गरिएको छ।नगरपालिकाको मुख्य प्रमुख प्रशासकीय भवनको दोस्रो तलामा स्तनपान कक्ष सञ्चालन गरिएको हो।

दुधे बालक लिएर नगरपालिकामा सेवा लिन आउने सेवाग्राही तथा कार्यालयका सुत्केरी महिला कर्मचारी लगायतलाई मध्यनजर राखी नियमितरूपमा स्तनपान गराउन खुल्ला स्थानमा असहज हुने भएकाले पनि स्तनपान कक्षा सञ्चालनमा ल्याइएको महिला बालबालिका ,अपाङ्ग तथा ज्यष्ठ नागरिक उपशाखाकी प्रमुख राधा आचार्यले बताइन्।

स्तनपान गर्न पाउनु बच्चाको नैसर्गिक अधिकार भएको हुनाले तथा दुधे बालक लिएर नगरपालिकामा आउने सेवाग्राही र पालिकाका सुत्केरी कर्मचारीलाई मध्यनजर राखी हालै उक्त स्तनपान कक्ष सुरु गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले प्रहार समाचारलाई बताए ।

नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले स्तनपान कक्षा स्थापना तथा सञ्चालन कार्यविधि २०८० को प्रस्तावनामा स्तनपान बालबालिकाका लागि अमृत समान र बाल अधिकारको आधारभूत पक्ष भएको जनाएको छ। नेपालमा स्तनपानको दर घट्दो क्रममा रहेको र स्तनपान गराइरहेका आमाहरुले सार्वजनिक स्थल, स्वास्थ्य संस्था र आपत्कालिन अवस्थामा सहज तरिकाले स्थानपान गराउन नपाइएको परिप्रेक्षामा स्तनपान कक्ष सञ्चालन गर्नुपर्ने व्यवस्था कार्यविधिमा उल्लेख छ।यसरी स्तनपान कक्षको निर्माणपछि व्यास नगरपालिकामा सेवा लिन आउने सुत्केरी सेवाग्राही र सुत्केरी महिला कर्मचारीहरूलाई सहज हुने भएको छ।

























