प्रहार समाचार । भारत, जेठ२५ । भारतको प्रधानमन्त्रीमा भारतीय जनता पार्टी (भाजपा) सांसद नरेन्द्र मोदी नियुक्त भएका छन् । मोदी तेस्रो पटक नियुक्त भएका छन् । राष्ट्रपति द्रौपदी मुर्मूले शुक्रबार साँझ संसदीय नेता मोदीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

शुक्रबार बिहान बसेको एनडीए सांसदहरूको बैठकले मोदीलाई दलको नेता चयन गरेको थियो । एनडीएका नेताहरूले संसदीय दलको निर्णय जानकारी गराएपछि राष्ट्रपति मुर्मूले मोदीलाई प्रधानमन्त्री नियुक्त गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । साँझ राष्ट्रपतिलाई भेटेपछि मोदीले भने, ‘राष्ट्रपतिजीले मलाई बोलाउनु भएको थियो र मलाई नवनिर्वाचित प्रधानमन्त्रीका रूपमा काम गर्न नियुक्त दिनुभयो ।’ मोदीले आइतबार साँझ ६ बजे शपथ लिएका छन्।
हालै सम्पन्न लोकसभा निर्वाचनमा सत्तारुढ एनडीए गठबन्धनले बहुमत ल्याएको थियो ।
























