हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचारखेलकुद

एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण आजदेखि सुरु हुँदै

प्रहार समाचार । काठमाडौँ, चैत ३० । एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण आजबाट सुरु हुने भएको छ। ओमानमा हुने उक्त प्रतियोगिताको पहिलो दिन आज नेपालले मलेसियाको सामना गर्नेछ । पहिलो दिनको अर्को खेल कतार र हङ्कङबिच खेलिने छ ।

वैशाख ९ गतेसम्म सञ्चालन हुने प्रिमियर कपको दोस्रो संस्करणमा १० टोलीको सहभागिता रहेको छ । प्रिमियर कपको पहिलो संस्करणको उपाधि नेपालले जितेको थियो । अघिल्लो वर्ष घरेलु मैदानमा आयोजित प्रिमियर कपको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई सात विकेटले हराएको थियो ।

नेपाली टोली भारतमा स्थानीय क्लबहरूसँग त्रिकोणात्मक शृङ्खला खेलेर उतैबाट ओमान प्रस्थान गरेको हो । भारत भ्रमणका क्रममा नेपाली टोलीले त्यहाँको राज्यस्तरीय क्लब गुजरात र बरोडासँग त्रिकोणात्मक टी–२० शृङ्खला खेलेको थियो । शृङ्खलाको उपाधि पनि नेपालले नै जितेको थियो ।
एसियाली क्रिकेट काउन्सिल (एसीसी) का एसोसिएट्स सदस्य राष्ट्रका लागि प्रिमियर कप क्रिकेट निकै महत्त्वपूर्ण प्रतियोगिता हो । यही प्रतियोगिताले एसोसिएट्स सदस्य राष्ट्रका लागि एसिया कपजस्तो ठुलो प्रतियोगिता खेल्ने अवसर प्रदान गर्छ ।

अघिल्लो संस्करणमा पनि नेपाल प्रिमियर कपको विजेता बन्दै एसिया कपमा छनोट भएको थियो । एसिया कपमा छनोट भएको एसोसिएट्स सदस्य राष्ट्रले आफूभन्दा निकै बलिया टेस्ट राष्ट्रहरूसँग भिडन्त गर्ने अवसर पाउँछ ।

यसपटक एसीसी प्रिमियर कपमा नेपालसँगै हङ्कङ, मलेसिया, साउदी अरेबिया र कतार समूह ‘ए’ मा परेका छन् । प्रतियोगिताको समूह ‘बी’ मा भने बहराइन, कम्बोडिया, कुवेत, आयोजक ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन् ।

प्रतियोगिताका लागि घोषित नेपाली टोलीमा रोहितकुमार पौडेलको कप्तानिमा आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल साह, गुलसन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी र अविनाष बोहरा रहेका छन् । नेपाली टोलीको प्रशिक्षकमा भारतका मोन्टी देसाई छन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button