हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि ‘ड्रिलिङ सर्भे’को काम सुरु

प्रहार समाचार । दैलेख, चैत २३ । दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि ‘ड्रिलिङ सर्भे’को काम सुरु भएको छ। ड्रिलिङ सर्भेका लागि आवश्यक उपकरण चीनबाट अन्वेषण स्थलसम्म ल्याइसकिएको छ।

विसं २०७६ असोजदेखि पेट्रोलियम पदार्थ अन्वेषणको काम सुरु गरिएको थियो। अब अन्तिम ड्रिलिङ सर्भेको काम सुरु भएको हो। त्यसका लागि नेपालगन्ज नाका रुपैडियामा रोकिएका ठूला उपकरण ल्याउन थालिएको छ। ती उपकरण राख्ने फाउण्डेशन तयारी भइसकेको छ। मेशिन चीनबाट कलकत्ता हुँदै अन्वेषण स्थलमा ल्याइएको हो।

शनिबार साँझ उपकरण बोकेको तीन वटा ट्रक दैलेख आएसँगै दैनिक तीन चरण समय मिलाएर काम सुरु भएको छ।
अन्वेषण परियोजनाले २४ सै घण्टा तीन चरणमा समय विभाजन गरी काम गर्ने जनाएको छ। काम सुरु भएपछि सशस्त्र प्रहरी बलले सुरक्षा दिने व्यवस्था मिलाएको दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए। अब अन्तिम परिणाम सहितको अन्वेषण भएकाले दैलेखमा कति क्षमता (भण्डारण) को पेट्रोलियम पदार्थ छ भन्ने पत्ता लाग्ने र गहिराइ पनि मापन हुने भूगर्भ विभागका पेट्रोलियम अन्वेषण परियोजना प्रमुख दिनेश नापितले बताए।

दैलेखको पेट्रोलियम पदार्थको अन्वेषणका लागि खानी तथा भूगर्भ विभाग र चिनियाँ जिओलोजिकल सर्भे कम्पनीसँग दुई अर्ब ४० करोडको आर्थिक तथा प्राविधिक सहयोगमा खानी अन्वेषण र उत्खननको काम सम्पन्न गर्ने सम्झौता भएको थियो।

भैरवी गाउँपालिका–१ जलजलेका २७ घरपरिवारको ४५ रोपनी जग्गाको मुआब्जा विवाद समाधान गरी सरकारले प्रतिरोपनी एक लाख ७५ हजारका दरले मुआब्जा दिई अधिग्रहण गरिसकेको छ। नागरिक दैनिक बाट



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button