प्रहार समाचार | चितवन, पुस २६ बिहिबार । गैँडाको खाग तस्करी गर्ने चार जना १७ वर्ष पछि पकाउ परेका छन् । विभिन्न समयमा गैँडालाई गोली हानी खाग तस्करी गरेको आरोपमा उनीहरूलाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गणेश कुमाल, चक्का जेठा, सोनामसिं वाइबा र मुक्तलाल पुनमगर रहेका छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार २०७७ कात्तिक २० गते भुसारघाट पारिपट्टि आइल्याण्ड क्षेत्रमा एकसिङ्गे गैँडालाई गोली हानी मारेर खाग तस्करी गरेको आरोपमा यही पुस २१ गते कुमाललाई भरतपुर महानगरपालिका–२४ मचानबाट पक्राउ गरेको हो । सो मुद्दामा उनीसहित २४ जना प्रतिवादी रहेका थिए ।

यस्तै २०६३ साउन २८ गते सिमलगैहरी क्षेत्रमा गैँडालाई गोली हानी खाग तस्करी गरेको आरोपमा वाइबालाई पक्राउ गरिएको सूचना अधिकारी तिवारीले जानकारी दिए । उनका अनुसार सो मुद्दामा १४ जना प्रतिवादीमध्ये वाइबालाई यही पुस २४ गते इच्छाकामना गाउँपालिका–७ भालुमाराबाट पक्राउ गरिएको हो । उनी १७ वर्षदेखि फरार थिए ।
























