प्रहार समाचार । काठमाडौँ, पुस २५ बुधबार । बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेको सजाय आज तोकिने भएको छ । पुस १३ गते अदालतबाट दोषी ठहर भएका लामिछानेलाई सजाय तोक्न आजलाई पेसी तोकिएको थियो ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासले उनलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको थियो । लामिछानेले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर छ ।

अदालतले पीडित किशोरी गौशाला २६ को उमेर घटना हुँदा १८ वर्ष पूरा भइसकेको पनि ठहर गरेको छ । तर, पीडित बालिग भए पनि जबरजस्ती करणी भएको जनाउँदै अदालतले लामिछानेलाई दोषी ठहर गरेको हो । लामिछानेलाई ७ देखि १० वर्षसम्म कैद सजाय हुन सक्ने काठमाडौं जिल्ला अदालतले जनाएको छ । १८ वर्ष पुगेकी वा सोभन्दा बढी उमेरकी महिलाको हकमा यो सजाय हुने कानूनी व्यवस्था रहेको अदालतले जनाएको छ ।

सन्दीपले २०७९ भदौ ५ गते गौशालाको एक होटलमा लगेर जबरजस्तीकरणी गरेको भन्दै भदौ २१ गते एक किशोरीले प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दिएकी थिइन् ।
























