प्रहार समाचार । तनहुँ, पुस २५ बुधबार । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका दुई उम्मेदवारविरुद्ध उजुरी परेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका दुई उम्मेदवारविरुद्ध उजुरी परेको हो ।
निवाचन आयोगका अनुसार सुदूरपश्चिमबाट उम्मेदवार बनेका नारायणदत्त भट्ट र कर्णालीका विष्णुबहादुर विकविरुद्ध उजुरी परेको हो ।
सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट अपाङ्गता भएका व्यक्तिको समूहबाट उम्मेदवारी दिएका नारायणदत्त भट्ट र कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र) का दलित समूहका उम्मेदवार विष्णु विकविरुद्ध उजुरी परेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

भट्टविरुद्ध एमालेका उम्मेदवार रामचन्द्र जोशीले अपाङ्गतासम्बन्धी प्रमाण नपुगेको तथा कर्णाली प्रदेशका माओवादी केन्द्रका उम्मेदवार विकविरुद्ध एमालेकै उम्मेदवार हिकमत विकले प्रतिनिधि सभा सदस्यको बन्दसूचीमा नाम भएको भन्दै उजुरी दिएका हुन् ।
राष्ट्रिय सभा सदस्यको रिक्त १९ पदका लागि आगामी माघ ११ गते हुने निर्वाचन कार्यतालिका अन्तर्गत सोमबार ५२ जना उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका थिए ।
























