प्रहार समाचार । तनहुँ पुस ९ सोमबार ।
नेपाली काङ्ग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी र देशलाई मजबुत बनाउन सबै एक हुन आवश्यक रहेको बताएका छन् ।
नेपाली कांग्रेस तनहुँको जिल्ला सम्मेलन एवं वीपी स्मृति भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले सरकारमा रहेका सबै राजनीतिक दल एक हुनुको विकल्प नरहेको बताए।

देउवाले भने “पार्टी बलियो र आमनागरिकको सहयोगी बनाउन सबै तहका नेतृत्वले भूमिका खेल्नुपर्छ । सोही अनुरुप नै काम गर्नुपर्छ । सधैं काङ्ग्रेस जनताको बन्नुपर्छ । यसका लागि पार्टीका सबै नेता तथा कार्यकर्ता बीचको समन्वय महत्वपूर्ण छ ।” जुन तवरबाट एकता कायम भएर संविधान निर्माण गरिएको थियो सोही अनुसार नै एक भएर कार्यान्वयनमा ल्याई जनताको आवश्यकता पूर्तिमा लाग्नु पर्छ। पाटी सभापती देउवाले पार्टी बलियो भएर मात्रै देश बन्दै पार्टीसँगै देशलाई बलियो बनाउनेतर्फ सबै एक भएर लाग्नु पर्ने मा जोड दिए।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले सङ्गठित भएर जनताको आवश्यकता पुरा गर्नुपर्ने बताउदै अरुको लहलहैमा हतासिएर बहकिने अवस्था नरहेको बताए । देशमा आएको विचलन हटाउन संंविधान निर्माणमा सहभागी राजनीतिक दलको मुख्य जिम्मेवारी भएको औल्याउदै पाण्डेले देशैभर हुँदै आएको निराशालाई आशामा बदल्नतर्फ सबैले भूमिका खेल्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा उपसभापति धनराज गुरुङले १२ बुदे सहमति गरि व्यवस्था परिवर्तन गरे पनि पुर्ण रूपमा कार्यान्वयन हुन नसकेको बताउदै मिलेर संंविधान बनाए पनि कार्यान्वयनको चरण पुर्याउने समयमा एकाअर्कालाई गाली गर्ने प्रचलन रहेको र यसको अन्त्य गर्नुपर्ने बताए।

केन्द्रिय सदस्य गोविन्द भट्टराईले काङ्ग्रेसकै सरकार आएको बेलामा आमनागरिकका आधारभूत आवश्यकता पुरा गरेको उल्लेख गर्दै युवालाई स्वदेशमा नै रहने वातावरण तय हुने गरी सन्तुष्ट बनाएर मात्रै पार्टी बलियो बनाउन सकिने बताए ।

त्यस्तै केन्द्रिय सदस्य प्रदीप पौडेलले सरकारमा रहेर जनताको पक्षमा काम गर्न सक्नुपर्नेमा जोड दिंदै पौडेलले भने – “सरकारमा बसेर जनताको आवश्यकता अनुसारको काम गरी काङ्ग्रेसले आमनागरिकको पार्टी बन्न सक्नुपर्छ । अहिले व्यवसायी पुर्ण रूपमा सटरबन्द गर्ने क्रम बढ्दो अवस्था छ । व्यवसायिक धरासायी हटाउने गरि काम गर्न आवश्यक छ । अब काङ्ग्रेसले यसतर्फ लाग्नुपर्छ ।“

केन्दीय सदस्य शंकर भण्डारीले देशमा अराजकता बढ्दै गएकोले नेत्तृत्व तहले बेलैमा होस पुर्याउनु पर्ने बताए । नेपाली काङ्ग्रेस तनहुँका सभापति जीतप्रकाश आलेको सभापतित्वमा सम्पन्न कार्यक्रममा निवर्तमान जिल्ला सभापति वैकुण्ठ न्यौपाने, पूर्व जिल्ला सभापति रघुनाथ पौडेललगायतका नेताले पार्टीप्रति प्रहार हुने क्रम बढिरहेकाले यसलाई चिर्न आवश्यक रहेकामा जोड दिएका थिए।
























