प्रहार समाचार । तनहुँ, पुस ९ सोमबार ।
नेपालसहित विश्वभरका इसाई धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ पर्व मनाउँदैछन् ।
अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा जिसस क्राइस्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मावलम्बीले आज क्रिसमस मनाउन लागेका हुन् । दुई हजार वर्षअघि जेरूसेलमको बेथलेहममा मारियमको कोखबाट जिसस क्राइस्टको जन्म भएको मानिन्छ ।

उनले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ । क्रिसमसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतले शुभकामना सन्देश दिएका छन् ।

क्रिसमस डे’ का अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ । क्रिसमस डेमा इसाई धर्मावलम्बीहरूले येशुको शिक्षा एवं उपदेशको मनन गर्नाका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गर्छन् ।
























