प्रहार समाचार | काठमाडौँ, पुस ५ बिहिबार ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती विवादमा तानिएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा दिएको अभिव्यक्तिका कारण उनी विवादमा तानिएका हुन् । क्रिश्चियन महोत्सवमा उनले ‘क्रिश्चियन नमान्नेहरूलाई संविधान विरोधी र देशद्रोही’को संज्ञा दिएका थिए ।
शुरूमा हेरौं उनले के भनेका थिए ? ‘नेपालको संविधानले सबैलाई आफ्नो धर्म मान्ने स्वतन्त्रता दिएको छ । क्रिश्चियनलाई मान्दिन भन्नेहरू संविधान विरोधी हुन् । देशद्रोही हुन् । उनीहरूलाई हतकडी लगाएर जेल हाल्ने हो,’ किराँतीले भनेका थिए ।
सम्बोधनका क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि मुछे । किराँतीले प्रधानमन्त्री प्रचण्डले समेत जिसस क्राइस्टलाई मान्ने दाबी गरे । यति मात्र होइन प्रचण्डलाई नै जिसससँग तुलना गर्न भ्याए । ‘अहिलेको प्रधानमन्त्री प्रचण्डज्यू जिससजस्तै विद्रोही नेता हो । उहाँको सबै कुरा जिसससित मिल्छ । जिसस अहिले जन्मेको भए ठ्याक्कै प्रचण्डजस्तै हुनुहुन्थ्यो । मलाई मात्र होइन, प्रधानमन्त्रीलाई पनि जिसस एकदमै मन पर्छ रे ।’

मन्त्री किरातीको अभिव्यक्ति अहिले चौतर्फी विरोध भइरहेको छ । सामाजिक सञ्जालमा उनको चर्को आलोचना भइरहेको छ । सर्वसाधारणदेखि केही दलका नेताहरूले समेत उनको आलोचना गरेका छन् । लोकान्तर
























