व्यासविचारगण्डकी

श्रृंखला,  सान्या र व्यासनगर                                              

विषय प्रवेश :
वि.सं. २०७१ साल मार्ग महिनाको कान्तिपुरको कोसेलीमा राजाराम गौतमको “सुन्दरी सहर” लेख हेर्ने सुअबसर मिलेको थियो । सो लेख पढदा  सान्या सहर र व्यासनगरको दमौली बारे केही समानताहरु पढने सुअवसर मिल्यो । उक्त लेखमा गौतमजीले चीनको हैनान प्रान्तको चर्चित सान्या सहरको यात्रा संस्मरणको यथार्थ चित्र कोर्नु भएको रहेछ । शान्या र दर्माैली बीचमा मेल खाने कुराहरुले मनमा खुल्दुली ल्यायो । त्यही खुल्दुलीलाई शब्दमा व्यक्त गर्ने मन भयो । चिनको सान्या सहर र तनहुँको पहिलो नगरपालिका व्यासनगर दमौली सहरमा प्रशस्त समानताहरु भेटियो । त्यही समानता देखिएकै कारण यो लेखले मूर्त रुप पाएको हो ।
शान्या र श्रृखला
भर्खर्ै मात्र  अर्थात २०७५ मार्ग २२ गतेका दिन सान्या सहरमा विश्व सुन्दरी छनोट कार्य सम्पन्न भइसकेको अवस्था हो ।  अन्तिम ५ मा छानिएका  थाइलैण्ड, युगाण्ड,बेलारुस र जमैकाकी सुन्दरीहरुलाई पछि पार्दै मेक्सीकोकी सुन्दरी भेनेसा देलीओनले विश्व सुन्दरीको ताज पहिरिएकी थिइन् । थाइलैण्डकी सुन्दरी निकोलेन लिम्स्नुकान फस्ट रनर अप हुन सफल भइन ।
      मिस नेपाल २०१८ की नेपाल सुन्दरी श्रङ्कखला खतिवडा पनि उक्त विश्व सुन्दरीमा प्रतिस्पर्धामा भाग लिंइरहेकी थिइन् ।  नेपाल सुन्दरी श्रृङ्गखला भने शीर्ष १२ स्थानसम्म पुग्न सफल भइन । अन्तिम ५ मा पर्नको लागि उनीले मिस वल्र्ड एसिया एण्ड ओसियन २०१८को उपाधी जित्नु पर्दथ्यो । उक्त उपाधी थाइलैण्डकी सुन्दरी निकोलेन लिम्स्नुकानले हात पर्दा श्रृङ्गखला शीर्ष ५ औं स्थानमा पर्न सकिनन् । विश्वसुन्दरी यात्रामा शीर्ष १२ औं को स्थानसम्म पुग्न श्रृङ्गखलाले कठिन यात्रा तय गरेकी थिइन ।  हाल सम्मको विश्व सुन्दरी यात्रामा नेपालको तर्फबाट सन२०१३मा इशानी श्रेष्ठ शीर्ष सात सम्म पुगेता पनि सुन्दरी प्रतियोगितामा अवार्ड प्राप्त गर्ने इतिहांस रच्ने सुअवसर भने श्रृंखलाले प्राप्त गरेकी छन् ।
शीर्ष ३०औ स्थानमा पुग्ने पहिलो चरणको हेड टु हेड राउण्डबाट १३ जना प्रतिस्पर्धी छानिएका थिए । पहिलो चरणको राउण्डमा  उनी दर्ज हुन सकिनन् । यत्तिकैमा शीर्ष ३०औं स्थानमा पुग्ने बाटो समाप्त भइ सकेको थिएन  । बांकी १७ औं प्रतिस्पर्धी मध्ये दोश्रो राउण्डमा हेड टु हेड बाट १५ जना र मल्टी मिडिया  अवार्डबाट १जना र ब्यूटि विथ पर्पोजबाट एक जना समेत २ जना छानिने प्रावधान रहेको थियो । दोश्रो राउण्डको हेड टु हेड प्रतिस्पर्धामा पनि श्रृङ्कखला खतिवडा मिस वल्र्ड सिङ्गापुर भेनिसा पेहरसङ्क पराजित हुन पुगिन । दोश्रो राउण्डको मल्टिमिडिया र व्युटि विथ अ पर्पोज दुवै विधामा अब्बल दर्ज हुँदै दुवै विधाको उपाधी हात पार्न सफल भएकी थिइन  । ११८ प्रतिस्पर्धीहरु मध्ये सबै भन्दा बढी अनलाइन भोट पाएर श्रृखलाले ३० औ स्थानमा आफनो उपस्थिति कायम गर्न सफल भएकी थिइन् । मल्टिमिडिया र ब्युटि विथ अ पर्पोज हात पारेपछि मिस वल्र्डको ताज जिते सरह भएको सबै नेपालीले महसुस गरेका थिए होलान । उन्ले त यस्मा आफु गौरान्वित भएको बताएकी थिइन । मिस वल्र्डमा आफनो प्रभाव छोड्न सफल श्रृङ्गखलालाई हाम्रो तर्फबाट  पनि मुरी मुरी बधाइ ।
ख,  अति दुर्गम एवं पिछडिएको स्थान
आजभन्दा २१ बर्ष अगाडी सान्या सहरको नाम निसानै थिएन । यो त गाउँ नै गाउँको ठाउँ थियो । अति अत्यन्त दुर्गम थियो । यहाँ यातायात संञ्चारको सुविधाको झन नामनिसानै थिएन भन्दा अनुपयुक्त हुँदैन होला । दिनमा मुस्किलले एउटा मात्र बस यस ठाउंँमा आउने जाने गर्दथ्यो । तर अहिले सान्याले कोल्टे फेरेको छ । सार्वजनिक यातायात बस ,भाडाका कार देखी नीजि कार रेल सेवा र दर्जनौं जहाजहरुको आवागमनको सुविधाले सान्यामा स्थानीय तथा परदेशी पर्यटकहरुको  घुईंचो लाग्न पुगेको छ ।
वि.सं.१८३९मा तनहुँ गोरखा राज्यमा गाभिए पछि तनहुँको प्रशासनिक निकाय तनहुँसुरबाट बन्दिपुरमा सर्न पुगेकोे थियो । शिक्षा क्षेत्रको विकासको पाटो हेर्ने हो भने वि.सं.२०१६ सालमा व्यास १ भादगाउंँमा एउटा मात्र जलदेवी प्राथमिक विद्यालय स्थापना हुन सकेको थियो । पृथ्वी राजमार्ग खोलिनु पूर्व यातायातको नाममा त्यसमा पनि छिमेकी जिल्ला गोरखाको पालुङ्गटार काठमाण्डौ जाने आउने एक मात्र हवाई मार्ग थियो । त्यो पनि अहिले बन्द भै सकेको स्थिति हो । वि.संं २०२५ सालमा तनहुँ जिल्लाको सदरमुकाम बन्दिपुरबाट दमौलीमा सरे पछि मात्र दमौलीको विकासको प्रारम्भिक रेखा कोरिन सम्भव भएको हो । काठमाण्डौ पोखरा जोड्ने पृथ्वीराजमार्ग बनेर यातायातको सुविधा प्राप्त हुन थाले पछि दमौलीको मुहार चम्किएको हो । जे होस रेल तथा हवाई सेवाबाट बञ्चित भएता पनि हाल व्यास नगर दमौलीमा सार्वजनिक यातायात देखि नीजि सवारी साधनहरुको सुविधा उपयोग गर्न सकिने भएको छ ।
सञ्जाय  दिने स्थल  :
प्राचीन समयका चीनका राजा महाराजा किन डायनेष्टी तथा टाङ्ग डायनेष्टीको शासन कालमा राष्ट्रदोह, देशद्रोह  अर्थात शासक वर्गका बीच सङ्ग असहमत हुने विद्रोहीहरुलाई सञ्जाय दिने ठाउँ थियो सान्या । सान्यामा विद्रोहीहरुलाई मृत्युदण्डको सम्म सञ्जाय दिने गरिन्थ्यो । 
औलकाकारण बदनाम दमौली सेनवंशको शासन कालमा पनि उपेक्षित थियो । राजा मणिमुकुन्द सेन वि.सं.१६३२ देखी पाल्पाको राजा भएका थिए । पाल्पाली राजा मुकुन्दसेनको राज्य पाल्पा, बुटवल, रिसिङ्ग, राजपुर, तनहु , मकवानपुर, र मोरङ्गमा उहाँकै आफ्ना भाइछोराहरु प्रशासकको रुपमा रहेका थिए । पाल्पामा बाबाको प्रभाव कमजोर हुन साथ अरु भाईहरुको सिको गर्दै तनहुँका प्रशासक भृङ्गसेनले पनि तनहुँलाई स्वतन्त्र राज्य घोषणा गरेका थिए । वि.सं. १६१०– १८३९ सम्म तनहुँमा सेनवंशीय राजाहरुको शासन रहेको थियो । सेनवंशीय राजाहरुले देशद्रोह गर्ने सिपाही  र शासक वर्ग सङ्ग असहमत हुने विद्रोही रैतीहरुलाई मृत्युदण्डको सञ्जाय दिने ठाउँ दमौली थियो रे भन्ने जनश्रुति सुन्नमा पाइन्छ । 
नगरपालिका घोषणा :
प्राचीन समयमा याजु भनेर चिनिने सान्याले सन १९१२ देखी याजियान नाम पाएको हो । यही याजियानमा  सन १९४१ देखी १९४५ सम्म चीन र जापान युद्ध चली रहंदा जापानी सेनाको नेभी व्यारेक राखिएको थियो । आखिर सन १९५०मा जापानी सेनाको शासन बाट मुक्त गराई याजियानलाई चिनीया जनमुक्ती सेनाले आफुमा समाहित गरेको थियो । सन १९५४ मा चीनले यस दुर्गम याजियानमा याजियान समिति गठन गरेको थियो । याजियान , वाओटिङ, लिङसुई , जिङ्गलोङ्ग, शनिङ्ग आदि गाउँ मिलाएर सन १९५८मा सान्या शहरको स्थापना भएको थियो । तर सन १९८७ मा चीनको राज्य परिषदले सान्यालाई “ प्रिफेक्टर ” को रुपमा घोषणा गरेपछि मात्र सान्याले गाउँ बाट  औपचारिक रुपमा सहर बन्ने मौका पाएको हो ।
सन १९५८मा सान्या सहरको स्थापना भएको थियो  भने सन १९८७ ( वि.सं. २०४५) मा यसलाई नगरपालिका घोषणा गरिएको हो । वि.सं. २०२५ साल दखि तनहुँको सदर मुकाम बनेको दमौली , वि.सं. २०३३ सालमा फराकचौर गाउँ पंचायतको ३,४र ५ नं वडाका आँसिक भूभाग र ६,७,८,र ९ नं वडाको पुरै भूभाग  ,कर्लुङ्ग गाउँपंचायतको ६ नं वडा र साविक गुणादी महेन्द्रपुर गाउँ पञ्चायत तथा जामुने गा.वि.स.को १र२ नं वडा  र स्याम्घा गाउँ पञ्चायतको ६ नम्बर वडाका भूभाग मिलाएर दमौली गाउँ पञ्चायत गठन गरिएको थियो ।  वि. स.२०४९ ( सन १९९२ ) सालको चैत्र ३० गतेको दिनमा  दमौली गाउँ पञ्चायतलाई व्यास नगरपालिका घोषणा गरिएको स्थिति हो ।  वि.सं. २०७४ साल आइ पुग्दा पोखरीभञ्ज्याङ्ग, श्याम्घा र क्यामिन गा.वि.स.का पुरै भूभाग र रिस्ती ,तनहुसुर, घांसीकुवा र केशवटार गा.वि.स.को आंशिक भूभाग व्यास नगरपालिकामा मिलाइसकेको अवस्था हो ।  इजरायलको जेरुसेलेम सहर जस्तो बनाउने संकल्पका साथ कार्य सुरुवात गरिएको दमौली भने नगर विकास योजना लागु भएको ४७ वर्ष र व्यास नगरपालिका घोषणा गरेको पनि ३१ वर्षको परिपक्व उमेर पार गरी सकेको छ । २१ वर्षको छोटो अवधीमा सान्या विश्वकै नमुना सहर बन्न सफल भएको अवस्था हो ।  तर सहर बन्न सक्ने पूर्वाधार भएको भनी नेपाल सरकारले दमौलीलाई व्यास नगरपालिका घोषणा गरेको ३१ वर्ष पुगी सक्दा पनि दमौली  अझै बे–सहारा नै छ । क्रमश…
-बस्न्यात ऐतिहासिक विषयमा शसक्त कलम चलाउने लेखक हुन्।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button