प्रहार समाचार । तनहुँ, २ मंसिर २०८३ बुधबार । नेपाली कांग्रेस तनहुँको देउवा समूहले १५औँ जिल्ला अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेको छ। अधिवेशनले प्रा.डा. कृष्णप्रसाद गौतमलाई जिल्ला सभापतिमा निर्विरोध चयन गरेको हो ।

त्यस्तै उपसभापतिमा डम्बरबहादुर अधिकारी र हिरा गुरुङ तथा सचिवमा माधव खनाल निर्विरोध निर्वाचित भएका छन्।

नेतृत्व चयनसँगै तनहुँ कांग्रेसभित्रको संगठनात्मक समीकरण र आगामी राजनीतिक दिशाबारे नयाँ बहस सुरु भएको छ। नियमित महाधिवेशनको पक्षमा देखिएको उल्लेख्य उपस्थितिले जिल्लाको कांग्रेस राजनीतिमा नयाँ शक्ति सन्तुलनको संकेतसमेत गरेको छ।

अधिवेशन उद्घाटन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले कांग्रेसलाई कमजोर बनाउन देशभित्र र बाहिर अदृश्य शक्ति सक्रिय रहेको दाबी गर्दै नेता–कार्यकर्तालाई सचेत रहन आग्रह गरे। कांग्रेस कमजोर हुँदा लोकतन्त्र नै संकटमा पर्ने उनको भनाइ थियो। उनले मुलुक र लोकतन्त्रको हितका लागि संवैधानिक राजतन्त्र र वैदिक सनातन हिन्दू राष्ट्र स्थापना अपरिहार्य रहेको धारणा राखे। भण्डारीको अभिव्यक्तिले अधिवेशनलाई नेतृत्व चयनमा मात्र सीमित नराखी कांग्रेसको भावी राजनीतिक दिशा, वैचारिक बहस र पार्टीको पहिचानसँग समेत जोडेको छ।

जिल्ला संयोजक गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्यहरू शिवकुमार हुमागाईं, किरण पौडेल, जीतजंग बस्नेत, सीता देवकोटा, केन्द्रीय प्रतिनिधि मणिभद्र कँडेल, आमन्त्रित केन्द्रीय सदस्य पुष्प पराजुलीलगायतले धारणा राखेका थिए।

उद्घाटनअघि अनशनचोकबाट बाजागाजासहित निस्किएको र्यालीले दमौली बजार परिक्रमा गरेको थियो।

नियमित महाधिवेशन पक्षधरको सक्रिय उपस्थिति र नयाँ नेतृत्व चयनले तनहुँ कांग्रेसभित्रको शक्ति समीकरणलाई थप चर्चामा ल्याएको छ। अब निर्वाचित नेतृत्वका सामु संगठनलाई एकताबद्ध बनाउने, गुटगत दूरी घटाउने र जिल्लामा कांग्रेसको राजनीतिक प्रभावलाई कसरी अघि बढाउने भन्ने चुनौती देखिएको छ।











