प्रहार समाचार । तनहुँ, २५ असोज २०८३ आइतबार । जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवं डीएसपी द्वारिका प्रसाद घिमिरे सुनचाँदी व्यवसायीबाट सम्मानित भएका छन्।

तनहुँ सुनचाँदी व्यवसायी संघले विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको अवसरमा आइतबार दमौलीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा घिमिरेलाई सम्मान गरेको हो।

नेपाल सुनचाँदी व्यवसायी संघका विशिष्ट सदस्य मोहनकुमार विक, तनहुँ सुनचाँदी व्यवसायी संघका अध्यक्ष हरि गहतराज र पूर्वसचिव केशबहादुर सुनारलगायतले संयुक्त रूपमा घिमिरेलाई सम्मान गरेका थिए। जिल्लामा शान्ति सुरक्षा कायम गर्न तथा व्यवसायीलाई सुरक्षित वातावरणमा व्यवसाय सञ्चालन गर्ने अवस्था सिर्जना गर्न नेपाल प्रहरीले निर्वाह गरेको भूमिकाको कदरस्वरूप उनलाई सम्मान गरिएको जनाइएको छ।

सम्मानपछि बोल्दै डीएसपी घिमिरेले जिल्लामा शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरी प्रतिबद्ध रहेको उल्लेख गर्दै गैरकानुनी गतिविधि तथा गलत क्रियाकलापमा संलग्न नहुन व्यवसायीलाई आग्रह गरे। उनले शान्ति सुरक्षा कायम गर्ने कार्यमा प्रहरी र व्यवसायीबीचको सहकार्य महत्त्वपूर्ण हुनेमा जोड दिँदै कानुनविपरीतका गतिविधि नियन्त्रण गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए।























