प्रहार समाचार । गोरखा, २५ असोज २०८३ आइतबार । गोरखाको चुमनुव्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङबीच आज बिहान गएको पहिरोपछि बुढीगण्डकी नदीमा आएको लेदोसहितको बाढीले तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको छ ।

बाढीमा परी पाँच जना बेपत्ता भएको सूचना प्राप्त भएको प्रधानमन्त्री बालेन्द्र शाहले बताएका छन् । बाढीले झोलुङ्गे तथा पक्की पुल, टेलिफोन टावर, विद्युत्का पोल, निर्माणाधीन बुढीगण्डकी जलविद्युत् आयोजनाको क्याम्प, निर्माण उपकरण र आसपासका घरसमेत बगाएको छ । बेपत्ताको खोजी तथा प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र पारिएको प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । बाढीको कहरपछि उद्धार र प्रतिकार्यमा सरकार सक्रिय भएको छ । प्रभावित सल्लेरीस्थित निर्माणाधीन बुढीगण्डकी जलविद्युत् आयोजनाका १२ कर्मचारीसहित ४८ जनालाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी ४३७ सुरक्षाकर्मी तथा नेपाली सेनाका चार हेलिकोप्टर परिचालन गरिएको छ । घटनाको कारण पत्ता लगाउन भूगर्भविद्सहित तीन सदस्यीय टोली ड्रोनसहित खटाइएको छ । सम्भावित जोखिम न्यूनीकरणका लागि गोरखा, धादिङ, तनहुँ, चितवन तथा नवलपरासीका सर्वसाधारणलाई पूर्वसूचना पठाइएको र प्रभावित क्षेत्रमा अत्यावश्यक राहत सामग्री स्थल तथा हवाई मार्गबाट पुर्याउने काम भइरहेको प्रधानमन्त्री शाहले उल्लेख गरेका छन् ।भत्किएका पूर्वाधार पुनः सञ्चालन र प्रभावितको उद्धार सरकारको प्राथमिकतामा रहेको छ । आरुघाटमा बेलिब्रिज जडानको तयारी थालिएको छ भने सडक सञ्चालनको सम्भाव्यता अध्ययन गर्न सम्बन्धित निकायका अधिकारी परिचालन भएका छन् ।

गोरखा, लमजुङ र तनहुँका द्रुत प्रतिकार्य टोली तथा स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको छ । प्रभावित क्षेत्रमा अलपत्र परेका पर्यटकको उद्धारका लागि समेत सम्बन्धित निकायलाई निर्देशन दिइएको प्रधानमन्त्री शाहले बताएका छन् । उनले बुढीगण्डकी नदीको तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा बस्न, जोखिमयुक्त पुल तथा सडकबाट आवतजावत नगर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायका निर्देशन पालना गर्न आग्रह गरेका छन् ।























