हेडलाईनसमाचारबागमती

नेपाली कांग्रेसको तीन उपसभापतिमा भण्डारी, आचार्य र चौधरी र महामन्त्रीमा पौडेल, राणा र संग्रौला निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट उपसभापतिमा चन्द्रकान्त भण्डारी, मधु आचार्य र विनोदकुमार चौधरी तथा महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला निर्वाचित भएका छन् ।

निर्वाचन परिणामले पार्टीभित्रको नेतृत्व समीकरणमा आएको परिवर्तनलाई उजागर गरेको छ । विशेष महाधिवेशनबाट महामन्त्री बनेका पौडेलले नियमित महाधिवेशनबाट पनि फराकिलो मतान्तरसहित जित दोहोर्‍याउँदा थापा नेतृत्वसँग जोडिएका राणा र संग्रौलाले समेत सफलता हात पारेका छन् । उपसभापतिको खुला प्रतिस्पर्धामा भण्डारीले ३ हजार ७ सय ३५ र आचार्यले २ हजार ३ सय ४२ मत प्राप्त गर्दा समावेशी पदमा चौधरीले १ हजार ७ सय ४५ मतसहित जीवन परियारलाई ८७ मतले पछि पारे । महामन्त्रीको खुला प्रतिस्पर्धामा पौडेलले ४ हजार १ सय ९४ मत प्राप्त गरे भने राणा २ हजार ३३० मतसहित सुनिल शर्माभन्दा ७३ मतले अगाडि रहे ।

महिला महामन्त्रीमा संग्रौलाले ३ हजार १ सय १८ मत ल्याएर महालक्ष्मी उपाध्याय ‘डिना’लाई २ सय ५४ मतले पराजित गरिन् । विशेष महाधिवेशनबाट महामन्त्री बनेका गुरुराज घिमिरे १ हजार ५ सय १३ मतमा सीमित भए । परिणामले विशेष महाधिवेशनबाट अघि बढेको नेतृत्व परिवर्तनको प्रक्रियाले नियमित महाधिवेशनमा पनि समर्थन पाएको देखाएको छ । १४औँ महाधिवेशनमा देउवा पक्षबाट महामन्त्रीका उम्मेदवार बनेर पराजित भएका पौडेल यसपटक सबैभन्दा बढी मतसहित निर्वाचित भएका छन् ।

राणा र संग्रौला पनि विशेष महाधिवेशनको प्रक्रियामा थापा नेतृत्वसँग जोडिएर पदोन्नतिसहित नयाँ जिम्मेवारीमा पुगेका छन् । उता, देउवानिकट मानिएकी डिना महाधिवेशनको मुखमा पार्टीको मूलधारमा फर्किए पनि महिला महामन्त्रीको प्रतिस्पर्धामा संग्रौलासँग पराजित भइन् । यसरी निर्वाचन परिणामले कांग्रेसमा नेतृत्व परिवर्तनको बहसलाई मतपत्रमार्फत नयाँ दिशा दिएको छ । यद्यपि, गुटगत समीकरणको वास्तविक प्रभाव नवनिर्वाचित नेतृत्वले पार्टी सञ्चालन, आन्तरिक एकता र संगठन विस्तारमा देखाउने व्यवहारबाट थप स्पष्ट हुनेछ ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button