समाचार

विजयादशमीको टीका साइत बिहान १०:२६ बजे, पश्चिम फर्केर टीका थाप्नुपर्ने

प्रहार समाचार । काठमाडौँ । नेपालीको महान् पर्व बडादसैँअन्तर्गत यस वर्षको विजयादशमीको टीका साइत कात्तिक ४ गते बुधबार बिहान १० बजेर २६ मिनेटमा उत्तम रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ।

समितिका अनुसार त्यस दिन बिहान ८ बजेर ४९ मिनेटमा देवी विसर्जन गरी शुभ साइतमा मान्यजनबाट देवीको प्रसादस्वरूप टीका र आशीर्वाद ग्रहण गर्न सकिनेछ। टीका लगाउँदा टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने धार्मिक मान्यता रहेको समितिले स्पष्ट पारेको छ।घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म चल्ने दसैँको धार्मिक विधि र पूजाआराधनाको क्रम असोज २५ गते आइतबार घटस्थापनाबाट सुरु हुनेछ। घटस्थापनाको शुभ साइत बिहान ११ बजेर ४७ मिनेटमा रहेको छ। असोज ३१ गते फूलपाती, कात्तिक १ गते महाअष्टमी, ३ गते महानवमी र ४ गते विजयादशमी परेको छ।

विजयादशमीमा देवी विसर्जन, टीका तथा आशीर्वाद ग्रहणसँगै तुलजा भवानीको यात्रा र खड्गयात्रासमेत हुनेछ। कात्तिक ८ गते कोजाग्रत व्रत तथा पूर्णिमा व्रत र ९ गते कोजाग्रत पूर्णिमा परेको समितिले जनाएको छ।धार्मिक आस्था, शक्ति उपासना र पारिवारिक मिलनको पर्वका रूपमा मनाइने दसैँमा नवदुर्गा भवानीको पूजाआराधना गर्दै सुख, शान्ति, समृद्धि र कल्याणको कामना गरिन्छ। रोजगारी, अध्ययन तथा विभिन्न पेसा–व्यवसायका कारण घरबाट टाढा रहेका नेपालीसमेत मान्यजनको हातबाट टीका र आशीर्वाद थाप्न थातथलो फर्कने गर्छन्। देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो लाग्ने यस पर्वमा परम्पराअनुसार पूजा, उपासना र बलिसमेत दिइन्छ। दसैँको मुख्य दिन विजयादशमीमा दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका ग्रहण गर्न चाहनेका लागि समितिले निर्धारित समय सार्वजनिक गरेको हो।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button