आँबुखैरेनीहेडलाईनसमाचारबागमती

तनहुँमा बियर बोकेको मिनी ट्रक ५० मिटर तल नदी किनारमा खस्यो, चालक बेपत्ता

प्रहार समाचार । तनहुँ, २३ असोज २०८३ शुक्रबार । तनहुँको आँबुखैरेनीमा बियर बोकेको मिनी ट्रक अनियन्त्रित भएर पृथ्वीराजमार्गबाट करिब ५० मिटर तल मर्स्याङ्दी नदीको किनारमा खसेको छ। आज राति भएको दुर्घटनापछि ट्रक चालक बेपत्ता छन्।

चालकको अवस्था अज्ञात रहेपछि प्रहरीले खोजी तीव्र पारेको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार आज राति ९ः३० बजे आँबुखैरेनी गाउँपालिका–४, ठुल्ढुङ्गास्थित पृथ्वीराजमार्गमा दुर्घटना भएको हो। मुग्लिङबाट दमौलीतर्फ आउँदै गरेको बा.प्र.०६–००१ ख ०४१७ नम्बरको बियर बोकेको मिनी ट्रक आफैँ अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ। ट्रक मर्स्याङ्दी नदीको किनारमा खसे पनि दुर्घटनाको कारण र त्यसबाट भएको क्षतिको पूर्ण विवरण भने खुलिसकेको छैन।

दुर्घटनालगत्तै इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट प्रहरी निरीक्षक प्रदीप सुवेदीको कमान्डमा १३ जनाको टोली घटनास्थलमा खटिएको छ। टोलीले बेपत्ता ट्रक चालकको खोजी तथा उद्धार कार्य गरिरहेको प्रहरीले जनाएको छ। ट्रक नदी किनारमा खस्दा चालक नै बेपत्ता हुनुले दुर्घटनाको गम्भीरता बढाएको छ। चालकको अवस्था, दुर्घटनाको वास्तविक कारण र अन्य सम्भावित क्षतिबारे प्रहरीको खोजी तथा अनुसन्धानपछि थप विवरण खुल्ने अपेक्षा गरिएको छ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button