हेडलाईनव्याससमाचारगण्डकी

तनहुँको व्यास नगरमा ‘व्यास नगर पुरातात्विक सम्पदा एवं ग्रामीण पर्यटन मेला’ हुने

प्रहार समाचार । तनहुँ, २३ असोज २०८३ शुक्रबार । तनहुँको व्यास नगरपालिकामा ल ऐतिहासिक तथा पुरातात्विक सम्पदाको संरक्षण, मौलिक संस्कृतिको प्रवर्द्धन र ग्रामीण पर्यटनको विकास गर्ने उद्देश्यले ‘व्यास नगर पुरातात्विक सम्पदा एवं ग्रामीण पर्यटन मेला’ हुने भएको छ ।

व्यास नगर प्रज्ञा प्रतिष्ठानको आयोजनामा आगामी मंसिर २५ देखि २७ गतेसम्म दमौली सभा गृह परिसरमा सञ्चालन हुने तीनदिने मेलामार्फत नगरभित्रका ऐतिहासिक सम्पदालाई पर्यटकीय आकर्षणका रूपमा विकास गर्नुका साथै स्थानीय कला, संस्कृति र उत्पादनको बजारीकरण गर्ने लक्ष्य राखिएको व्यास नगर प्रज्ञा प्रतिष्ठानका उप- कुलपति काशिनाथ न्यौपानेले जानकारी दिए ।

आज व्यास नगर सभाहलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उप- कुलपति न्यौपानेले ‘सांस्कृतिक सहर, व्यास नगर’ मूल नारासहित आयोजना हुने मेलामा नगरभित्रका कम्तीमा १० गाउँलाई नमुना सांस्कृतिक ग्रामका रूपमा विकास गर्ने लक्ष्य अघि सारिएको जानकारी दिए ।

मेलामा पुरातात्विक सम्पदाको फोटो प्रदर्शनी, जीवित मूर्ति तथा चित्रकला अभ्यास, पर्यटनसम्बन्धी गोष्ठी, मौलिक सांस्कृतिक प्रस्तुति र स्थानीय उत्पादनका बिक्री कक्ष सञ्चालन गरिने मेला संयोजक पर्यटन विद् हरिसिंङ गुरुङले जानकारी दिए । उनले नगरभित्र रहेका सय वर्षभन्दा पुराना सम्पदालाई समेटेर ‘व्यास नगर सम्पदा’ पुस्तक प्रकाशन गर्ने तथा करिब ३० मिनेट लामो सम्पदा वृत्तचित्र निर्माण गर्ने कार्यक्रमसमेत रहेको उल्लेख गरे। गुरुडले मेलामार्फत व्यास पराशर क्षेत्र, छाब्दी बाराही र तनहुँसूरजस्ता ऐतिहासिक तथा धार्मिक स्थलको डिजिटल माध्यमबाट प्रचारप्रसार गरिने समेत उल्लेख गरे ।

उनले क्यूआर कोडमार्फत नेपाली, गुरुङ, मगर, अंग्रेजी र हिन्दी भाषामा पर्यटकीय सूचना उपलब्ध गराउने तथा व्यास पराशर क्षेत्रका लागि संस्कृत भाषाको सामग्रीसमेत तयार पार्ने योजना रहेको बताए ।

पत्रकार सम्मेलनमा महोत्सवका प्रवक्ता महाप्रसाद हड्खलेले ग्रामीण पर्यटनलाई स्थानीय अर्थतन्त्रसँग जोड्न सामुदायिक होमस्टे, विद्यालयका सांस्कृतिक कार्यक्रम, रैथाने खाद्य परिकार र घरेलु उत्पादनलाई मेलामा प्राथमिकता दिइने आयोजकले जनाए । उनले मेलामा दैनिक पाँच हजारसम्म आन्तरिक तथा बाह्य दर्शक सहभागी हुने र करिब २५ लाख रुपैयाँ बराबरको आर्थिक कारोबार हुने आयोजकको अपेक्षा छ । मेलामा टिकटको सट्टा निःशुल्क निमन्त्रणा कार्डमार्फत प्रवेशको व्यवस्था गरिनेछ । स्थानीय, प्रदेश र संघीय सरकार तथा विभिन्न सरकारी एवं गैरसरकारी संस्थासँगको सहकार्यमा आयोजना हुने मेलामा प्लास्टिकका बोतल तथा गिलास निषेध गर्ने, स्थानीय लोकसंस्कृतिको संरक्षण गर्ने र रैथाने उत्पादनको बजारीकरण गर्ने कार्यक्रम पनि समेटिएका छन् ।

नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष धनपति अधिकार ( डिपी)ले यस्ता मेला र महोत्सवले सिङ्ग व्यास नगरको पर्यटन प्रवर्धन तथा प्रचार प्रसारमा योगदान पुऱ्याउने उल्लेख गरे ।

यद्यपि, २५ लाख रुपैयाँ खर्च गरेर तीन दिन मेला आयोजना गर्नु मात्रै यसको उपलब्धिको मापन हुने छैन । संरक्षणको अभावमा ओझेलमा परेका ऐतिहासिक सम्पदाको दीर्घकालीन संरक्षण, ग्रामीण क्षेत्रमा पर्यटकको आगमन वृद्धि, स्थानीय उत्पादनको बजार विस्तार र रोजगारी सिर्जनामा मेलाले कस्तो योगदान पुर्‍याउँछ भन्ने विषय महत्त्वपूर्ण हुनेछ । पुस्तक प्रकाशन, वृत्तचित्र निर्माण र डिजिटल प्रचारप्रसारलाई मेलापछि पनि निरन्तरता दिँदै त्यसबाट प्राप्त उपलब्धि मापन गर्ने व्यवस्था गर्न सके मात्रै व्यास नगरको सांस्कृतिक पहिचान र ग्रामीण पर्यटन विकासको अभियानले सार्थकता पाउनेछ ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button