प्रहार समाचार । कास्की, २३ असोज २०८३ शुक्रबार । कास्कीको पोखरामा स्कुल बस भीरबाट खस्दा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ । पोखरा महानगरपालिका–२८, ओख्लेमा कालिका बोर्डिङ स्कुलको बस सडकबाट करिब १५० देखि २०० मिटर तल खस्दा पाँच जनाको मृत्यु भएको हो ।

दुर्घटनामा यसअघि तीन जनाको मृत्यु भएको पुष्टि भएकोमा पछि थप दुई बालिकाको ज्यान गएको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिएका छन् । दुर्घटनामा विद्यार्थी र विद्यालयका कर्मचारीसमेत परेका छन् ।गण्डकी प्रदेश प्रहरी कार्यालयका डीआईजी दीपेन्द्र जिसीले यसअघि दुई विद्यार्थी र एक गाडी कर्मचारी गरी तीन जनाको मृत्यु भएको पुष्टि गरेका थिए ।
दुर्घटनामा घाइते भएकाहरूको उद्धार तथा उपचार जारी रहेको प्रहरीले जनाएको छ । घटनामा ज्यान गुमाउने पाँचै जनाको पहिचान खुल्न बाँकी छ । उद्धार कार्य सम्पन्न भएपछि मात्रै मृतकहरूको सनाखत प्रक्रिया अघि बढाइने एसपी कार्कीले बताएका छन् । पोखरा महानगरपालिका–२८ स्थित माझठानाबाट विद्यार्थी बोकेर कालिका बोर्डिङ स्कुलतर्फ आउँदै गरेको ग २ ख १४१७ नम्बरको बस आज बिहान ओख्लेमा अनियन्त्रित भएर सडकबाट तल भीरमा खसेको थियो । दुर्घटनाको कारण खुल्न सकेको छैन । बसमा सवार विद्यार्थी तथा अन्य व्यक्तिको अवस्थाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।






















