प्रहार समाचार । तनहुँ, २३ असोज २०८३ शुक्रबार । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा क्षेत्रीय सचिव पदमा पराजित भएका तनहुँका तारा नरेश पौडेल शशाङ्क कोइराला नेतृत्वको महाधिवेशन तयारी समितिमा जोडिएका छन् ।

कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले पौडेललाई तनहुँ क्षेत्र नं. १ (१) को संयोजकको जिम्मेवारी दिएका छन् । भानु नगरपालिकाका पौडेल महाधिवेशनमा क्षेत्रीय सचिव पदका उम्मेदवार थिए । निर्वाचनमा पराजित भएपछि उनी शशाङ्क कोइराला पक्षमा खुलेका हुन् । महाधिवेशनको प्रतिस्पर्धामा पराजित भएका नेता अर्को समूहमा जोडिएर जिम्मेवारी पाउन थालेपछि तनहुँ कांग्रेसभित्रको गुटगत समीकरण र नेताहरूको प्रभाव व्यवस्थापनको राजनीति फेरि चर्चामा आएको छ ।
पौडेलको यो राजनीतिक यात्राले महाधिवेशनको परिणामपछि कांग्रेसभित्र नेताहरूको समूह परिवर्तन र जिम्मेवारी बाँडफाँटको अभ्यासलाई समेत सतहमा ल्याएको छ । चुनावमा प्रतिस्पर्धा गरेका नेता पराजयपछि अर्को समूहमा जोडिनु र त्यहाँ जिम्मेवारी पाउनु व्यक्तिगत राजनीतिक निर्णय मात्रै हो वा गुटगत शक्ति सन्तुलन मिलाउने रणनीति हो भन्ने प्रश्न स्वाभाविक रूपमा उठेको छ । शशाङ्क कोइराला नेतृत्वको तयारी समितिले पौडेललाई क्षेत्रीय संयोजकको जिम्मेवारी दिएसँगै तनहुँ क्षेत्र नं. १ (१) मा उनको भूमिका कस्तो रहनेछ भन्ने चासो बढेको छ ।

यसअघि बन्दीपुरका सुकुमलाल गुरुङ पनि कांग्रेसको १५औँ महाधिवेशनमा तनहुँ क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधिका उम्मेदवार थिए । गुरुड पनि पराजित भएपछि कोइराला गुट तिर लागेका छन । गुरुडलाई तयारी समितिको सदस्य को जिम्मेवारी प्रदान गरिएको छ । कांग्रेसभित्रको समूहगत राजनीतिमा अब कसले कसलाई साथ दिन्छ भन्ने मात्र होइन, साथ दिएपछि कसले कस्तो जिम्मेवारी पाउँछ भन्ने विषय पनि तनहुँको राजनीतिक वृत्तमा चासोको विषय बनेको छ ।






















