प्रहार समाचार । तनहुँ, ३१ भदौ २०८३ बुधबार । अविरल वर्षापछि खोल्सीमा आएको बाढी एक्कासि बस्ती पस्दा तनहुँको शुक्लागण्डकी नगरपालिका–२ एक्लेखेतका १३ घर प्रभावित भएका छन् । बुधबार बिहान करिब २ बजे ताकुडाँडाको खोल्सीमा पानीको बहाव बढेपछि बाढीको पानी स्थानीयका घरभित्र पसेको हो ।

बाढीले घरमा क्षति पुऱ्याए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । बाढीको पानी घरभित्र पस्न थालेको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कोत्रेबाट प्रहरी सहायक निरीक्षक रामचन्द्र पौडेलको कमाण्डमा प्रहरी टोली तत्काल उद्धारका लागि घटनास्थल पुगेको थियो । प्रहरी टोलीले स्थानीयको अवस्था बुझ्नुका साथै आवश्यक उद्धार तथा सुरक्षा व्यवस्थापन गरेको थियो । केही समयपछि पानीको बहाव घट्दै गएपछि तत्काल थप जोखिम टरेको प्रहरीले जनाएको छ ।

बाढीबाट कुलप्रसाद पन्थीको दुईतले पक्की घर, टिका पुन, तिलकुमारी पुन, खिलबहादुर पुन, कलिमाया पन्थी, नममाया तिलिजा पुन, शंकर विक, नरबहादुर विक, लुककुमारी पुन, दुरुपती पौडेल र खेमबहादुर विकका एकतले कच्ची घर तथा हर्कबहादुर पुनको एकतले पक्की घरमा पानी पसेको छ । त्यस्तै मिना सुवेदीको दुईतले पक्की घरमा समेत बाढीको पानी पसेको प्रहरीले जनाएको छ ।

अविरल वर्षाका कारण खोल्सी तथा साना नदी–नालामा पानीको बहाव अचानक बढ्दा बस्ती तथा घरहरु जोखिममा पर्ने अवस्था देखिएको छ । एक्लेखेतमा मध्यरातमा बाढी बस्ती पसे पनि प्रहरीको तत्कालको परिचालन र उद्धार प्रयासका कारण ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ । हाल बाढीको पानी पूर्णरुपमा घटिसकेको र प्रभावित क्षेत्रमा थप जोखिमको अवस्थाबारे निगरानी भइरहेको प्रहरीले जनाएको छ ।

















