प्रहार समाचार । मलेसिया, २५ भदौ २०८३ बिहीबार । ब्याटिङमा मध्यम स्कोरमा रोकिए पनि बलरहरूले विपक्षीलाई घुँडा टेकाएपछि नेपालले ओमानमाथि ८७ रनको शानदार जित निकाल्दै एसीसी प्रिमियर कपको फाइनलमा स्थान सुरक्षित गरेको छ।

मलेसियास्थित वायुमास क्रिकेट ओभल स्टेडियममा बिहीवार भएको सेमिफाइनलमा नेपालको बलिङ आक्रमणसामु ओमानको ब्याटिङ पूर्ण रूपमा निरीह बनेको हो।पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा १४७ रन बनाएको थियो। सामान्य देखिएको उक्त लक्ष्य बचाउने क्रममा नेपाली बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। कप्तान सन्दीप लामिछाने, ललितनारायण राजवंशी र दीपेन्द्र सिंह ऐरीको धारिलो बलिङसामु ओमानी ब्याटरहरू लामो समय टिक्न सकेनन्।
ओमानको टोली २८.१ ओभरमै अलआउट हुँदै केवल ६० रनमा सीमित भएपछि नेपालले ८७ रनको फराकिलो जित हात पार्यो।यो जितसँगै नेपाल एसीसी प्रिमियर कपको उपाधि नजिक पुगेको छ। अब उपाधिका लागि नेपालले यूएईसँग प्रतिस्पर्धा गर्नेछ। बिहीवार नै भएको अर्को सेमिफाइनलमा यूएईले हङकङलाई सात विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। फाइनलमा यूएईलाई हराउँदै नेपाल च्याम्पियन बने एशिया कपमा छनोट हुने अवसरसमेत पाउनेछ। त्यसैले नेपालका लागि अबको फाइनल खेल केवल उपाधिको भिडन्त नभई एशिया कप यात्राको ढोका खोल्ने निर्णायक अवसरसमेत बनेको छ।

















