प्रहार समाचार । तनहुँ, २३ भदौ २०८३ मङ्गलवार । लामो समयसम्म कक्षाकोठामा रहेर ज्ञान बाँडेका अनुभवी शिक्षाविद् महेन्द्र न्यौपानेले आफूले दुई दशकभन्दा बढी समय प्राध्यापन गरेको दमौली कलेजको प्राचार्यको जिम्मेवारी सम्हाल्ने भएका छन्। सरल, सादगीपूर्ण र बौद्धिक व्यक्तित्वका रूपमा परिचित न्यौपानेको नियुक्तिलाई कलेजको शैक्षिक उन्नयनका लागि सकारात्मक अवसरका रूपमा हेरिएको छ।

न्यौपानेले आफ्नो शिक्षण यात्राका क्रममा तनहुँको निमेल माध्यमिक विद्यालयमा २५ वर्ष र सत्यवती माध्यमिक विद्यालयमा ५ वर्ष अध्यापन गरेका छन्। त्यसपछि आदिकवि भानुभक्त क्याम्पसमा १० वर्ष उपप्राध्यापकका रूपमा सेवा गरेका उनले दमौली कलेजमै करिब २३ वर्ष प्राध्यापन गरेका छन्। अंग्रेजी विषयमा एमए तथा एमएड गरेका न्यौपाने लामो शैक्षिक अनुभव, विषयगत दक्षता र सरल व्यवहारका कारण विद्यार्थी तथा शैक्षिक क्षेत्रमा परिचित छन्।प्राचार्यको जिम्मेवारी सम्हाल्दै न्यौपानेले कलेजलाई अझ गुणस्तरीय, अनुशासित, प्रविधिमैत्री र विद्यार्थीकेन्द्रित शैक्षिक संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले शिक्षालाई केवल प्रमाणपत्र प्राप्त गर्ने माध्यमका रूपमा नभई विद्यार्थीको ज्ञान, सीप, क्षमता र चरित्र निर्माणसँग जोड्नुपर्नेमा जोड दिएका छन्। कलेजको शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यार्थीको क्षमता विकास, शिक्षक–विद्यार्थीबीचको सहकार्य तथा समयअनुकूल शिक्षण पद्धतिको विकासलाई प्राथमिकतामा राखिने न्यौपानेले बताएका छन्। “कलेजको उन्नति कुनै एक व्यक्तिको प्रयासले मात्र सम्भव हुँदैन, सबैको सामूहिक प्रयास र सहकार्य आवश्यक हुन्छ,” उनले भने। वि.सं. २०५७ सालमा स्थापित दमौली कलेज तनहुँको व्यास नगरपालिका–४, दमौलीमा अवस्थित उच्च शिक्षाको महत्वपूर्ण संस्था हो। स्थापना कालदेखि नै कलेजले स्थानीय तथा आसपासका विद्यार्थीलाई गुणस्तरीय उच्च शिक्षा प्रदान गर्दै ज्ञान, सीप र क्षमताको विकासमा योगदान पुर्याउँदै आएको छ।

शिक्षालाई व्यवहारिक, गुणस्तरीय र समयसापेक्ष बनाउँदै दक्ष, अनुशासित तथा जिम्मेवार जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ कलेजले आफ्नो शैक्षिक यात्रा अघि बढाइरहेको छ। दमौली क्षेत्रमा उच्च शिक्षाको पहुँच विस्तार गर्न कलेजले पुर्याएको योगदान महत्वपूर्ण मानिन्छ। गण्डकी प्रदेशकै उत्कृष्ट शैक्षिक संस्थाका रूपमा आफ्नो पहिचान थप सुदृढ गर्ने लक्ष्यसहित अघि बढिरहेको दमौली कलेजमा लामो समयदेखि यही संस्थाको शैक्षिक यात्रासँग जोडिएका न्यौपानेको नेतृत्वले नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।

कक्षाकोठाबाट नेतृत्वको जिम्मेवारीसम्म आइपुगेका न्यौपानेका लागि यो नियुक्ति पद परिवर्तन मात्र नभई आफूले दशकौँसम्म योगदान गरेको शैक्षिक संस्थालाई थप उचाइमा पुर्याउने अवसरका रूपमा हेरिएको छ। उनको अनुभव, दक्षता र नेतृत्व क्षमताले दमौली कलेजलाई अझ सफल, उत्कृष्ट र प्रतिष्ठित शैक्षिक संस्थाका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
















