प्रहार समाचार । काठमाडौं, १८ भदौ २०८३ बिहीबार । रसुवामा बाढीबाट प्रभावित क्षेत्रको खोज, उद्धार तथा पुनःस्थापनाका लागि छिमेकी मुलुक चीनले उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको तेस्रो खेप बिहीबार नेपाल आइपुगेको छ। चिनियाँ जनमुक्ति सेनाको वायुसेनाको ठूलो क्षमताको मालवाहक विमान ‘वाई–२०ए’मार्फत राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो। तेस्रो चरणमा बाढी प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने विभिन्न राहत तथा उद्धार सामग्री नेपाल ल्याइएको जनाइएको छ।राहत सामग्रीसँगै नेपालका लागि चिनियाँ विज्ञ टोलीको चौथो खेपअन्तर्गत १० जना फरेन्सिक विज्ञसमेत नेपाल आएका छन्।

बाढीका कारण ज्यान गुमाएका व्यक्तिको पहिचान प्रक्रियामा नेपाल सरकारलाई प्राविधिक सहयोग गर्ने उद्देश्यले उनीहरू नेपाल आएका हुन्। यसअघि पनि चीनले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार र राहतका लागि आवश्यक सहयोग उपलब्ध गराउँदै आएको छ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित राहत सामग्री हस्तान्तरण कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ र नेपाल सरकारका विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन सहभागी भएका थिए।

मन्त्री पुनले नेपाल आएका चिनियाँ फरेन्सिक विज्ञसहितको टोलीको स्वागत गरेका थिए। चीनबाट ल्याइएका सामग्रीमा शव राख्ने फ्रिजर, महामारी रोकथाम तथा नियन्त्रणका सामग्री तथा दैनिक उपभोग्य वस्तुहरू रहेका छन्।तेस्रो चरणको राहत सामग्रीमा विपद् उद्धार तथा पुनःस्थापनाका लागि अत्यावश्यक मानिएको बेली ब्रिजसमेत समावेश गरिएको छ। पहिलो चरणमा उपलब्ध गराइने बेली ब्रिज जडानका लागि आवश्यक विशेष उपकरण भने स्थलमार्ग हुँदै लिजी–नेचुङ सीमा नाकामा आइपुगेको जानकारी दिइएको छ। बाढीबाट क्षतिग्रस्त पूर्वाधार तथा यातायात सम्पर्क पुनःस्थापनामा बेली ब्रिज उपयोगी हुने अपेक्षा गरिएको छ।

















