हेडलाईनसमाचारबागमती

बाढीमा बगेर आएको बैंकको भल्ट लुटिएको आरोप, ३५ जना संलग्न रहेको सांसद तामाङको दाबी

प्रहार समाचार । धादिङ, १२ भदौ २०८३ शुक्रबार । बाढीबाट उत्पन्न संकटका बेला बैंकको भल्ट फोरेर ठूलो रकम लुटिएको गम्भीर आरोप सार्वजनिक भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले बाढीमा बगेर आएको बैंकको भल्टबाट करिब १ करोड ८० लाख रुपैयाँ निकालेर बाँडिएको दाबी गरेकी छन्। उनका अनुसार घटनामा गल्छीका वडाध्यक्षसहित करिब ३५ जना संलग्न रहेको जानकारी आफूलाई प्राप्त भएको छ।

सांसद तामाङले विपद्का बेला सर्वसाधारणको जीवन र सम्पत्तिको सुरक्षामा जुट्नुपर्ने समयमा बैंकको भल्ट फोरेर रकम लुटिएको आरोप अत्यन्त गम्भीर रहेको बताएकी छन्। बाढीले घरबार र सम्पत्ति गुमाएका नागरिक पीडामा रहेका बेला सार्वजनिक सम्पत्तिसमेत लुटपाट गर्नु कुनै पनि हालतमा स्वीकार्य नहुने उनको भनाइ छ।तामाङका अनुसार उनले घटनाबारे सम्बन्धित प्रमुख जिल्ला अधिकारी (सीडीओ) तथा प्रहरी प्रशासनलाई तत्काल जानकारी गराउँदै सत्यतथ्य खोजी गर्न आग्रह गरेकी छन्।

घटनामा संलग्न भनिएका व्यक्तिहरूको पहिचान गरी उनीहरूलाई तत्काल नियन्त्रणमा लिएर निष्पक्ष अनुसन्धान अघि बढाउन पनि उनले प्रशासनसँग माग गरेकी छन्।“जनता बाढीले घरबार गुमाएर रोइरहेका बेला लुट मच्चाउने ? पदमा बसेको मान्छे होस् वा जोसुकै होस्, अपराध गरेको हो भने कारबाही हुनैपर्छ,” सांसद तामाङले भनेकी छन्। उनले विपद्को संवेदनशील अवस्थामा भएको भनिएको यस्तो घटनालाई ढाकछोप नगरी तत्काल छानबिन गरी दोषी देखिए कडा कानुनी कारबाही गर्न सरकार र सुरक्षा निकायसँग माग गरेकी छन्।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button