प्रहार समाचार । काठमाडौं, १२ भदौ २०८३ शुक्रबार । रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा आएको विनाशकारी प्राकृतिक विपद्पछि सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा पीडित र मृतकका हृदयविदारक तस्बिर तथा भिडियो सार्वजनिक हुन थालेपछि सरकारले त्यसप्रति गम्भीर आपत्ति जनाएको छ।

सूचना तथा सञ्चार मन्त्रालयले विपद्का नाममा मानवीय संवेदनशीलता भुल्ने गरी सामग्री प्रकाशन, प्रसारण, अपलोड, शेयर तथा रिपोस्ट नगर्न सञ्चार माध्यम र आम नागरिकलाई कडा आग्रह गरेको छ।मन्त्रालयले विपद्बाट भएको मानवीय तथा भौतिक क्षति, उद्धार र राहतसम्बन्धी समाचार प्रकाशन तथा प्रसारण गर्दा आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र आधार बनाउन आग्रह गरेको छ। गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा स्थानीय विपद् व्यवस्थापन समितिबाट प्राप्त तथ्यलाई प्राथमिकता दिनुपर्ने भन्दै मन्त्रालयले अपुष्ट, कपोलकल्पित, अफवाहपूर्ण तथा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगबाट सिर्जित भ्रामक सामग्रीले थप त्रास र अन्योल सिर्जना गर्ने जनाएको छ।विपद्का क्रममा ज्यान गुमाएका तथा प्रभावित व्यक्तिका परिवारजनलाई थप मानसिक पीडा पुग्ने गरी सामाजिक सञ्जालमा मृतक तथा पीडितका तस्बिर, भिडियो र हृदयविदारक विवरण सार्वजनिक नगर्न मन्त्रालयले विशेष अनुरोध गरेको छ।

भयावह तथा विचलित बनाउने सामग्रीको अनियन्त्रित प्रसारणले समाजमा नकारात्मक मनोवैज्ञानिक असर पार्नुका साथै उद्धार, राहत र सूचना व्यवस्थापनको कार्यसमेत प्रभावित हुन सक्ने भन्दै मन्त्रालयले सञ्चारकर्मी, सञ्चार गृह र सामाजिक सञ्जाल प्रयोगकर्तालाई जिम्मेवार बन्न आग्रह गरेको हो।“सही सूचना दिऔँ, पीडितको पीडा नबढाऔँ” भन्ने भावनासहित मन्त्रालयले विपद्को संवेदनशील अवस्थामा पत्रकारिता र सामाजिक सञ्जाल प्रयोगलाई थप जिम्मेवार बनाउन अपिल गरेको छ। मन्त्रालयले मानवीय संवेदनालाई केन्द्रमा राख्दै तथ्यपरक र आधिकारिक सूचना मात्र सम्प्रेषण गर्न तथा उद्धार र राहत अभियानलाई सहयोग पुग्ने वातावरण निर्माण गर्न राष्ट्रिय तथा स्थानीय सञ्चार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ। मन्त्रालयका सहसचिव एवं प्रवक्ता द्वारा हिंजो भदौ ११ गते जारी गरेको अपिलमा यस्तो आग्रह गरिएको हो।
















